२०८२ चैत्र २५ गते बुधवार

तुलसीपुरको दुर्गम गाउँमा विद्युत विस्तार, स्थानिय खुसी

तुलसीपुर, २४ चैत ।  दाङको तुलसीपुर क्षेत्रका दुर्गम बस्तीहरुमा विद्युत सेवा विस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आज एक कार्यक्रमका बिच वडा नम्बर १ को अभिधारामा “ग्रामीण विद्युतीकरण उद्घाटन कार्यक्रम” सम्पन्न भएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले तुलसीपुरका दुर्गम क्षेत्रहरुमा पनि विद्युतीकरणको काम भइरहेको बताउनुभयो । क्रमिक रुपमा सबै ठाउँमा विद्युत सेवा विस्तार हुने बताउदै उहाँले धैर्य गर्न आग्रह गर्नुभयो । यसैगरी तुलसीपुर–१ का वडाअध्यक्ष हुमाकान्त सापकोटाले वडाका बासिन्दाहरूलाई नियमित तथा पहुँचयोग्य विद्युत सेवा उपलब्ध गराउने काममा आफु निरन्तर खटिरहेको बताउनुभयो । यसैगरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश कुमार महतोले विद्युतको सही प्रयोग गर्न आग्रह गर्नुभयो । सामान्य लापरवाहीले गर्दा ज्यान जान सक्ने भएकाले विजुलीसँग खेलवाड नगर्न आग्रह गर्नुभयो ।

विद्युत उद्घाटनसँगै उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । यसले घरायसी उपभोगका साथै साना व्यवसाय सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, ग्रामीण क्षेत्रमा आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । स्थानीयवासीहरूले लामो समयदेखि विद्युत सेवाको पहुँचको अपेक्षा गर्दै आएका थिए । अब उक्त आवश्यकता पूरा भएकोमा उनीहरूले खुशी व्यक्त गरेका छन् । स्थानिय निम बहादुर केसीले लामो समयदेखी विद्युत सेवाबाट बञ्चित हुनै आएपनी अहिले विजुली बाल्ने अवसर प्राप्त गरेको बताउनुभयो । अझै केही गाउँबस्तीहरुमा विद्युत सेवा विस्तार हुन बाँकी रहेको भन्दै उहाँले यसतर्फ पनि चासो देखाउन स्थानिय सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया