रोल्पा, २२ चैत । रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ भालुबाङ सुलिचौर सडकखण्डअन्तर्गत एक्लेपिपल क्षेत्रमा आइतबार बिहान करिब ८ बजे दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। खुङ्ग्रीबाट सुलिचौरतर्फ जाँदै गरेको रा ६ प ५५२७ नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प १०१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा रा ३ प १०१७ नम्बरको मोटरसाइकलका चालक सुनिलस्मृति गाउँपालिका–२ महेन्द्रीका २७ वर्षीय मनोज मरमथानी गम्भीर घाइते हुनुभएको थियो । उहाँको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।दुर्घटनामा पल्सर मोटरसाइकलका चालक सुनिलस्मृति–२ माडिचौरका १८ वर्षीय साइमन सेन ठकुरी, सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अर्पण शाह ठकुरीलाइ बुटवल रिफर गरीएको छ भने सुनिलस्मृति–२ खुङ्ग्रीकोटका १६ वर्षीय हिमाल चन्द ठकुरी सामान्य घाइते हुनुभएको छ । दुवै मोटरसाइकल घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








