२०८२ चैत्र २० गते शुक्रवार

संघीय संसद् अधिवेशन आजदेखि सुरु हुदै

काठमाण्डौँ, १९ चैत ।  गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन आजदेखि शुरू हुँदैछ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएको चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयको राष्ट्रियसभा कक्षमा बस्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया