अख्तियारद्धारा पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

दाङ , १९ असोज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारका छोरा तथा कन्स्ट्रक्सनका अध्यक्ष सुमित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
संघीय समाजवादी फोरम नेपालबाट सांसद समेत बनेका रौनियार विरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो ।उनी सांसद हुनु अघि हुनुअघि सम्म कन्सट्रक्सनका अध्यक्ष थिए ।अख्तियारले कन्स्ट्रक्सनका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ । अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालिन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार तथा एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार
प्रतिक्रिया