जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना

तुलसीपुर, १९ असोज । नेपालीहरुको महान चाडपर्वलाई मध्यनजर गदै जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  दशैँ ,तिहार र छठ पर्वलाई मध्यनजर गदै जिल्ला भित्रिने सवारी साधन र यात्रुहरुको सहजताको लागी यात्रुमैत्री व्यवहार गर्न नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।
चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र यात्रुहरुले विभिन्न समस्या भोग्नुपर्ने भन्दै त्यस्ता समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण हरि शर्माले जानकारी दिएका छन् । भिडभाड वढि हुने समयमा लुटेराहरु समेत सलबलाउने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्धेश्यका साथ नागरिक सहायता कक्ष स्थापना गरीएको उनले बताएका छन् ।
उनका अनुसार लुटपाट, दोहोरो टिकट, यात्रुमाथी अभद्र व्यवहार हुन सक्ने सम्भावित क्षेत्र घोराही बसपार्क,ट्राफिक चोक,लमही,भालुवाङ,अमिलिया र तुलसीपुरमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । साथै कुनै नागरिक तथा यात्रुलाई समस्या परेमा जिल्ला प्रहरी कार्यालय दाङको सम्पर्क नम्वर ९८५७८९०१०१ र टोल फ्रि नं. १०० लगाएतका नम्वरमा फोन गर्न सकिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार
प्रतिक्रिया