२०८२ फाल्गुन ८ गते शुक्रवार

रास्वपाको भैरहवामा हुने भनिएको चुनावी सभा स्थगित

दाङ,८ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाले रुपन्देहीको भैरहवामा फागुन ९ गते आयोजना गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ।

 रास्वपा रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रको निर्देशनपछि सभा स्थगित गरिएको हो। पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा अन्य विशेष कारणका आधारमा हाललाई सभा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

प्रदेशस्तरीय उक्त सभाको तयारी अन्तर्गत पत्रकार सम्मेलन, प्रचार–प्रसार तथा स्टेज निर्माणलगायतका कामहरू अघि बढिसकेका थिए।

  गएराति तुलसीपुरमा रास्वपा समर्थकहरूले नेकपा एमाले को झण्डा जलाएको तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटना सार्वजनिक भएको थियो। सो घटनाकै प्रभावका कारण रुपन्देहीको सभा स्थगित गरिएको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

एमाले कार्यकर्ताहरूले पार्टीको झण्डा जलाइएको र नेतृत्वविरुद्ध नाराबाजी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया