२०८३ जेष्ठ २७ गते बुधवार

मतदानमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएकालाई विशेष व्यवस्था

फोटो फाईल

काठमाडौ, १ फागुन । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा मतसंकेत गर्न नसक्नेहरूका लागि आगामी मतदानमा विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।साथै गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई पनि लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने गरी व्यवस्थापन गरेको आयोगले जनाएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैं मतसंकेत गर्न नसक्ने भई मतदाताले एकाघरको परिवारको सदस्यलाई आफूसँग मतसंकेत गर्ने गोप्य स्थानमा लैजान मतदान अधिकृतसँग अनुमति माग्नुपर्ने हुन्छ । यस्तो मागमा मतदान अधिकृतले अनुमति दिन सक्नेछन् ।दृष्टिविहीन वा शारीरिक अशक्तता भएको मतदाताले आफैं मतसंकेत गर्न नसक्ने भई मतसंकेतका लागि सहयोग मागे मतदान अधिकृतले मतसंकेत गर्ने काममा सहयोग गर्नुपर्ने आयोगले जनाएको छ ।

२१ फागुनमा देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । आयोगका अनुसार मतदान केन्द्र र मतदान स्थल तय भइसकेका छन् । ती ठाउँको व्यवस्थापनको ससन्दर्भमा आयोगले के कस्तो व्यवस्था गर्ने भनेर नीति बनाएको छ । जस अन्तगर्गत दृष्टिविहीन वा शारीरिक अशक्तता भएकालाई मतदानमा विशेष व्यवस्था गरिने भएको हो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया