तुलसीपुर, ११ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागी आज मतदान सम्पन्न भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय घोराहीले जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार विहान ९ बजेदेखी दिउँसो ३ बजे सम्म भएको मतदानमा २८६ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेको कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य संख्या ८७ रहेकोमा पुरुष ४८ जना र महिला ३० गरी ७८ जना मतदानमा सहभागी भएका छन् ।यस्तैगरी स्थानिय तहका प्रमुख तथा उपप्रमुखको संख्या २१८ रहेकोमा १२३ जना पुरुष र ८५ जना महिला गरी २०८ जनाले मतदान गरेको कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता समुह गरी तीन जना सदस्य पदका लागी आठ जना उमेदवारले निर्वाचनमा भाग लिएका छन् । खुल्लातर्फ नेपाली कांग्रेसका चन्द्र बहादुर केसी, राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्री र नेपाली कुम्युनिष्ट पाटीका बृहस्पती अधिकारी रहनु भएको छ । यस्तैगरी महिला कलस्टरतर्फ नेपाली कम्युनिष्ट पाटीका दुर्गा कुमारी भण्डारी, राष्ट्रिय जनमोर्चाका पद्या पण्डित र नेकपा एमालेबाट राम कुमारी झाक्री उमेदवार रहनु भएको छ । यस्तै अपाङगता तथा अल्पसंख्यक समुहबाट दुई जना उमेदवार रहेका छन् ।
जसमा नेपाली कांग्रेसका बासुदेव घिमिरे र नेपाली कम्युनिष्ट पाटीका सर्जन विक रहेको कार्यालयले जानकारी दिएको छ ।
फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपाङ्गता)को ठाउँमा नयाँ सदस्य निर्वाचित हुन लागेका हुन् । प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा कांग्रेसको ३,१७९, एमालेको २,८१० र नेपाली कम्युनिष्ट पाटी गठबन्धनको २,६८६ मतभार छ ।



