दाङमा डिजेलको अभाव

तुलसीपुर १२ असोज
दाङमा डिजेलको अभाव भएको छ । माग अनुसार आपूर्ति नहुँदा डिजेलको अभाव भएको हो । दाङमा दैनिक दुई लाख लिटर डिजेलको माग भएपनि आपूर्ति भने ४० हजार देखि ८० लिटर सम्म हुने गरेको छ । डिजेल अभाव हुँदा सवारी साधनहरु विभिन्न पम्पमा तेल भर्न लाईनमा बसेका छन् । शुक्रबार मात्रै ८० हजार लिटर डिजेल आएको नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले जनाएको छ । आपूर्ति अनुसार दैनिक एक लाख २० हजार लिटर डिजेल अपुग छ ।
सवारी मजदुरहरुको आन्दोलनका कारण आपूर्तिमा असहजता भएको डिपोका लेखा प्रमुख सुर्यप्रसाद आचार्यले बताउनुभयो । ‘काठमान्डौमा अभाव भयो भन्ने खबर आएपछि एक सय ट्याङकर उता पठाइयो,’ आचार्यले भन्नुभयो ‘उता पनि तेल झार्न नपाएर ट्याङकर रोकिएका छन् ।’ केहि दिनमै डिजेलको सहजता हुने डिपोले बताएको छ । डिजेल तुलसीपुर र घोराहीमा ४०/४० हजार लिटर वितरण गरिएको छ ।
‘पम्पमा ५० वटा गाडी अहिले पनि लाईनमा छन्,’ तुलसी व्यापार सेवाका संचालक बलदेव शर्माले भन्नुभयो, ‘दुई घन्टामा तेल सकिन्छ ।’
सवारी धनीहरुले पनि सहज रुपमा डिजेल नपाउँदा आर्थिक मारमा परेको बताएका छन् ।
‘चाडपर्वको समयमा धेरै काम गरेर धेरै पैसा कमाइएला भन्ने बेला यस्तो ताल छ,’ रा१त २६८३ नम्बरका ट्रेक्टरधनी बुद्धी विकले भन्नुभयो, ‘तेल हाल्न हिजो विहान आएको हुँ अहिले सम्म लाइनमा छु । चार हजार लिटर आउेन हो बाटो हेरेका छु ।’ पेट्रोलको भने बिहिबार देखि सहजता देखिएको छ । पेट्रोल शुक्रबार ४० हजार लिटर आएको छ । यसको दैनिक माग ४० हजार लिटर छ ।

प्रकाशित मिति : २०७५ असोज १२ गते शुक्रवार
प्रतिक्रिया