औंठा छाप नक्कली हो (अन्र्तवार्ता )

यज्ञराज पन्त
निर्मलाका बुबा

गृहमन्त्री रामबहादुर थापाले बुधबार निर्मला पन्त हत्याबारे एउटा रहस्य खोले । मंगलबार छानबिन समितिको प्रतिवेदन बुझेका थापाले निर्मला हत्यापछि उनले लगाएको लुगा जलाइएको र मुचुल्कामा समेत बुबा यज्ञराज पन्तका नाममा नक्कली औंठाछाप गरेको खुलासा गरे । सोही विषयमा निर्मलाका बुबा यज्ञराजसँग राजधानीकर्मी महेश्वर गौतमले गरेको कुराकानी :

निर्मलाको हत्या हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?

म भारतमा थिएँ । गुरु पूर्णिमाका लागि म कृपालुजी महाराजको आश्रम गएको थिएँ । त्यो ११ साउनको कुरा हो ।

छोरीको हत्या भएको कसरी थाहा पाउनुभयो त ?

११ साउनका दिन १२ बजे मलाई निर्मला बिरामी भएर आईसीयूमा राखेको छ भन्ने खबर आयो । मसँगै गएका मध्ये एक जनासँग इन्डियन सिम थियो । त्यसैमा फोन आयो । अनि म त्यहाँबाट फर्किएँ ।

तपाईंले ११ गते नै प्रहरीले उठाएको मुचुल्कामा औंठा छाप लगाएको भन्छन् नि हो ?

होइन, यो गलत कुरा हो । म १२ गते बिहान ९ बजे मात्र कञ्चनपुरमा रहेको अञ्चल अस्पताल पुगें । मैले मात्र होइन मेरो परिवारले पनि त्यो दिन कहीं पनि औंठा छाप गरेका छैनौं । त्यो नक्कली नै हो ।
छोरीको हत्या भएको ८÷१० दिनपछि मात्रै हामीलाई जिल्ला प्रहरी कार्यालय बोलाइयो । त्यहाँ मेरी श्रीमती, म र मेरो भतिजा लक्ष्मीप्रसाद पन्तलाई मुचुल्कामा होइन, अरू नै कागजमा सहीछाप गराइयो । तर के, कसो, केही भनिएन । औंठा छाप पनि गराएका थिए ।

छोरीले कस्तो लुगा लगाएकी थिइन्, थाहा छ ?

उसले रातो सुरुवाल, रातो टिसर्ट र भित्र कट्टु लगाएकी थिई । तर म अस्पताल पुग्दा उसको शव नांगो अवस्थामा थियो, आइस हालेर राखेका थिए । अनुसन्धान समितिका वीरेन्द्र केसी सरले फोन गरेर लुगा कहाँ छ भनेर सोध्नुभयो । मैले जिल्लामा प्रहरीले नै लगेका छन् भनेर जवाफ दिएँ ।

दोषी को जस्तो लाग्छ ?

हामीलाई ठ्याक्कै को दोषी भन्ने थाहा छैन । पुलिसलाई समयमा नै खबर भएको रहेछ तर आएनन् । शंका पुलिसमाथि नै छ । बलात्कार र हत्या गर्ने ठूलै मान्छे हो ।
अनि जुन घरबाट निर्मला हराएकी हो, त्यही घरका मान्छेमाथि पनि राम्रो छानबिन भएको छैन । त्यहींबाट अनुसन्धान हुनुपर्छ । यो घटनामा सरकारले नै ढाकछोप गरेको जस्तो लाग्छ ।
प्रधानमन्त्रीले नै बम दिदीबहिनीको चरित्र हत्या भयो भन्ने कुरा बोल्नुभयो, हामीलाई पीडा हुन्छ । प्रधानमन्त्रीलाई कसले सूचना दिने रहेछन् । कस्ता मान्छे रहेछन् । देशको प्रधानमन्त्रीलाई त सही सूचना दिने मान्छे चाहिन्छ ।

बम दिदीबहिनीमाथि नै शंका हो ?

शंका गर्ने धेरै ठाउँ छन् । साइकल भेटियो, लास पनि यतै होला भनेर भन्नु के हो त ? उनीहरूको घरमा पनि हतारहतार रङ लगाइएको छ ।
प्रधानमन्त्रीसँग भेट्दा भन्नुभएन त ?
प्रधानमन्त्रीसँग भेट्न जाँदा मलाई बोल्न दिएनन् । मेरी श्रीमतीले मात्रै बोलिन् । समय छैन भने । हामीले ज्ञापनपत्र पनि लगेका थियौं, पढ्न दिइएन । त्यहाँ भएका केही मान्छेले कुन पार्टीको खोल ओडेर आएको भनेर उल्टै प्रश्न गरे ।

छानबिन समितिका मान्छे आए तपाईंलाई भेट्न ?

एक दिन पाँच जना आएका थिए । फोन पटकपटक गरेका छन् । ‘चिन्ता नगर्नु छानबिन हुँदै छ,’ भन्छन् । छानबिनमा पनि हामीलाई शंका छ । प्रतिवेदन पनि गोप्य रूपमा बुझाइयो भन्ने सुनें । पत्रकारलाई पनि थाहा दिन नहुने हो र ? प्रतिवेदन कति दिनमा सार्वजनिक हुन्छ भन्ने लागेको छ । कुरेर बसेका छौं ।

दोषीले सजाय पाउला भन्नेमा विश्वास छ ?

पटक्कै लाग्न छोडिसक्यो । दोषी पक्रन यत्रो समय लाग्छ ? ठूला मान्छेको परिवार भए यत्रो दिन लाग्थ्यो त ? अब न्याय पाउँछु भन्नेमा आशा मरिसक्यो । हामी नेपाली नै होइनौं भन्ने लाग्न थालेको छ । राज्यले न्याय दिन सकेन । न्याय माग्न कति दिन सडकमा जाने ? छोरी सम्झेर र देशको परिस्थिति देखेर रुन मन लाग्छ ।

राजधानीबाट

प्रकाशित मिति : २०७५ असोज ११ गते बिहिवार
प्रतिक्रिया