तुलसीपुर, २८ पुष । दाङको तुलसीपुरमा ट्राफिक व्यवस्थापनको अवस्था कमजोर बन्दै गएको छ । विशेषगरी बजार क्षेत्रमा जथाभावी रुपमा गरिने पार्किङका कारण सवारी जाम बढ्नुका साथै बजार क्षेत्र कुरुप देखिन थालेको स्थानीयवासीको गुनासो छ । अव्यवस्थित पार्किङ, तीव्र गतिको सवारी सञ्चालन तथा ओभरलोड सवारीका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयले बताएका छन् । पैदलयात्रुहरू सडक पार गर्नसमेत कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ छ । तुलसीपुरमा सवारी साधन सञ्चालनको अवस्थालाई हेर्दा ट्राफिक प्रहरीको उपस्थिति नै सुन्य जस्तो महसुस हुने गरेको स्थानीयको टिप्पणी छ । “जथाभावी पार्किङ र नियमविपरीत सवारी चलाउँदा पनि ट्राफिक प्रहरीले निगरानी नगर्दा समस्या झनै बढेको छ,” एकजना स्थानीयले भन्नुभयो । स्थानीयका अनुसार यसअघि ट्राफिक प्रहरीका सई नरेन्द्र शाही ट्राफिक प्रमुख रहँदा तुलसीपुरमा ट्राफिक व्यवस्थापन सुधारोन्मुख अवस्थामा पुगेको थियो । तर पछिल्लो समय पुनः अवस्था अस्तव्यस्त बन्दै गएको उनीहरूको भनाइ छ ।
हाल तुलसीपुर ट्राफिक प्रमुखको जिम्मेवारी बरिष्ठ सई लक्ष्मण ऐरले सम्हाल्दै आउनुभएको छ । तर उहाँ प्रायः कार्यालयमै सीमित रहने र फिल्डमा आक्कल–झुक्कल मात्रै देखिने गरेको गुनासो उठ्न थालेको छ । फिल्डमा खटिने अन्य ट्राफिक प्रहरीहरूले पनि ट्राफिक व्यवस्थापनमा अपेक्षित ध्यान नदिएको स्थानीयको आरोप छ । यसकारण हाल तुलसीपुर बजार क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नै दुर्लभ जस्तै बन्न पुगेको छ । स्थानीयवासीले तत्काल प्रभावकारी ट्राफिक व्यवस्थापन, नियमित निगरानी र कडाइका साथ नियम कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । यता ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख बरिष्ठ सई लक्ष्मण ऐरले आफुहरुले निगरानी गर्दागर्दै पनि सम्भव नभएको बताउनुभएको छ । ट्राफिक प्रहरीको जनसक्तीलगाएत विविध कारणले अपेक्षाअनुसारको काम हुन नसकेको उहाँले बताउनुभयो ।।



