दाङ, ५ भदौ । प्रतिनिधि सभाका १२ मध्ये १० वटा विषयगत समितिले आज नेतृत्व पाउँदैछ । समितिको सभापति आज सर्वसम्मत चयन भएको घोषणा हुने भएको छ । समिति सभापतिमा हिजो एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि आज नेतृत्वमा सर्वसम्मत घोषणा हुन लागेको हो ।भोलि बस्ने प्रतिनिधिसभाको बैठकलेसर्वसम्मत चयन भएको जानकारी गराउने छ। यसपालि अधिकांश समितिमा महिला सांसदले नेतृत्व पाएका छन् ।
राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ, महिला बालबालिका समितिको सभापतिमा सांसद निरु पाल, जयपुरी घर्तीले शिक्षा तथा स्वास्थ्य समितिमा, पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ ।
पवित्रा निरौला अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा, कल्याणीकुमारी खड्का विकास समितिको सभपति बन्नुहुने भएको छ । नेकपाबाट पुरुषतर्फ कृष्णप्रसाद दाहाल अर्थ र कृष्णभक्त पोखरेलले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ ।
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमका विमल श्रीवास्तवले पाउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाह सार्वजनिक लेखा समितिको सभापति बन्नुहुने भएको छ । दश समितिको सभापति मध्ये नेकपाबाट ८ , काग्रेसबाट एक र संघिय समाजबावी फोरमबाट एउटा समितिको नेतृत्व गर्ने पक्का भएको छ ।