जोशीलाई महाअभियोग लगाउने तयारी

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको एक नेताले बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बचन तोडेको नेकपाको आरोप छ । आफ्नो बचन तोडेर जोशीले नेकपालाई अप्ठ्यारोमा पारेको भन्दै महाअभियोगको तयारी सुरु भएको हो ।

राजीनामाका लागि जोशीलाई दबाव दिन हस्ताक्षर संकलन गरिएको बताएको छ । यद्यपि राजीनामा नदिए महाअभियोग दर्ता गर्ने योजना छ ।

प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् । सत्तारुढ नेकपा गठबन्धनसँग महाअभियोग पारित गराउने दुई तिहाई बहुमत संसदमा छ ।

नेकपा सांसदहरुकै पहलमा संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि घरविदा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि फेरि सर्वोच्च फर्किएर मुद्दा फैसला गर्न थालेका छन् ।

प्रकाशित मिति : २०७५ असोज ४ गते बिहिवार
प्रतिक्रिया