तुलसीपुर नगर स्वास्थ्य प्रविधिमैत्री बन्दै

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर २५ भदौ ।
तुलसीपुर नगर स्वास्थ्य चौकी प्रविधिमैत्री बनेको छ । उपमहानगरपालिकाका अन्र्तगत हरेक स्वास्थ्य चौकिमा आमाको माया कार्यक्रम लागु भएपछि स्वास्थ्य क्षेत्र प्रविधिमैत्री बनेको हो । तुलसीपुरलाई स्मार्ट सिटि बनाउने अवधारणा अनुसार नगरलाई स्वास्थ्य प्रविधि संग जोडिएको उपमहानगरपालीकाले जनाएको छ । यो कार्यक्रम लागु भएसंगै तुलसीपुरका सवै स्वास्थ्य चौकीमा आधुनिक प्रविधियुक्त सेवा सुरु गरीएको छ ।
उक्त प्रविधिको प्रयोगबाट गर्भवति महिला र बच्चाहरुलाई दिईने खोप सम्वन्धिको सम्पुर्ण विवरण छिटो छरितो जानकारी लिन र दिन सकिने तुलसीपुर नगर स्वास्थ्य शाखाका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सन बसन्त आचार्यले जानकारी दिएका छन् । यो कार्यक्रम दाङका १० वटा स्थानिय तह मध्ये तुलसीपुरमा पहिलो पटक लागु भएको उनले बताएका छन । यस अघि स्वास्थ्य चौकीमा गर्भवति महिला चेकजाँच र खोप लगाउने बच्चाहरुको विवरण रजिष्टरमा लेख्नु पर्ने थियो भने अव सम्पुर्ण विवरण प्रविधिको प्रयोगबाट सुरु गरीएको छ ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ८ वटा स्वास्थ्य चौकीमा यस्तो प्रविधि लागु गरीएको हो । गत जेठ र असारमा प्रविधिको परिक्षण गरी चालु आर्थिक वर्षको साउन देखी नियमित रुपमा काम भईरहेको फोकल पर्सन आचार्यले बताएका छन् ।
त्यसैगरी कुन गर्भवति महिलाले कति पटक स्वास्थ्य चेकचाँज गराएको,सुत्केरी व्यथा लागेमा ध्यान दिनुपर्ने कुराहरु लगाएत अन्य जानकारी र कुन बालवालिकाले कति पटक कुन खोप लगाएको भन्ने सम्पुर्ण जानकारी लिन प्रविधिको प्रयोगबाट छिटो छरितो हुने गरेको आचार्यले बताएका छन् । सम्पुर्ण विवरण प्रविधिमा उल्लेख गरीएको छ । केहि ग्रामिण क्षेत्रमा नेटवर्कको समस्याले सफट्वयरमा समस्या भएपनि प्रविधिबाट सम्पुर्ण विवरणको जानकारी लिन सहज भएको छ ।
तुलसीपुर वडा नम्वर १ को पवननगर स्वास्थ्य चौकी, वडा नम्वर ४ को हलवार स्वास्थ्य चौकी, वडा नम्वर ११ बेलटाकुरा स्वास्थ्य चौकीमा प्रविधिको व्यवस्था गरीएको छ । त्यस्तैगरी वडा नम्वर १०,१३ ,१५,१७ र १९ मा रहेका स्वास्थ्य चौकीमा पनि प्रविधि सेवा लागु भएको छ । साथै नगरको अन्य स्वास्थ्य संस्थामा पनि यो प्रविधिको विस्तार गर्ने योजना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २५ गते सोमवार
प्रतिक्रिया