आज १५ औं निजामति सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाईदै

दाङ , २२ भदौ ।आज १५ औं निजामति सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाईदै छ । ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन लागिएको हो । नेपालमा निजामति सेवा गठन भएको ६२ वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष भदौ २२ गते निजामति दिवस मनाउन थालिएको हो । हाल नेपालमा करिब ८५ हजार निजामती कर्मचारी कार्यरत छन् ।
दिवसका अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताएका छन् । शुभकामना सन्देश दिदै प्रधानमन्त्री वलीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गरेका छन् ।

सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन
दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले आज १० जना कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ । तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन । सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी सहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न गरीएको छैन ।
सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी दुई लाख रुपैयाँ भएपनि कर्मचारी छनोट नभएको एक मन्त्रीले जानकारी दिएका छन् । १० जनालाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी एक लाख र ३० जनालाई दिइने निजामती सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।

प्रकाशित मिति : २०७५ भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया