पहिरोमा परी एकै घरका ३ बालबालिका पुरिए

मिना बुढाथोकी , भदौ १८ सल्यान ।
जिल्लाको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी पुरिएका बालवालिका अझै सम्म पनि फेला परेका छैनन् । आईतबार बेलुका करिब ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिदा उनका २ छोरी र १ छोरा पुरिएर बेपत्ता भएका हुन ।

पहिरोमा पुरिनेहरुमा उनकी १० बर्षिया छोरी ललिता डाँगि,७ बर्षीया छोरा ललित वलि र बर्ष ४ की छोरी मेनका डाँगी रहेको १२ नम्बर वडाका अध्यक्ष दिपक डाँगीले जानकारी दिए ।

घर माथिबाट आएका ढिस्कोले बालकालिका बसी रहेको भान्साकोठा पुरी दिएपछि उनिहरु पनि त्यही पुरिएका छन् । संगै सटेको भैंसी गोठमा रहेका बालाराम डाँगी र उनकी श्रीमतीलाई सामान्य चोट लागेपनि उनिहरु बाँच्न सफल रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुग्न सदरमुकाम बाट करिब ५० किलोमीटरको दुरीमा रहेको र सडकखण्डबाट करिब ५ घण्टा पैदल हिड्नु पर्ने भएकाले प्रहरी राती १२ बजे घटनास्थलमा पुगेको प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताए । प्रहरी अबेर राती पुगेको र रातीमा पानी परेकाले उद्दार गर्न कठिनाई भएपछि अहिले बिहाना देखी स्थानीय र प्रहरी उद्दार कार्यमा जुटेको उनले बताए ।

उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए । अहिले जिल्ला बाट प्रमुख जिल्ला अधिकारी,डिएसपी लगायतको जिल्लाबाट एक टोली उद्दारका लागी घटनास्थल जान लागेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १८ गते सोमवार
प्रतिक्रिया