दाङ, ३१ भदौ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) दाङले असोज १ गते जिल्लाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
हालै भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै विद्यार्थी तथा युवाले ज्यान गुमाएको र धेरै घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेशनल प्याब्सनले राष्ट्रिय शोक दिवसमा विद्यालय बन्द राख्ने घोषणा गरेको हो। प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने र सचिव हरिप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक विदा दिने निर्णयलाई समर्थन गर्दै प्याब्सन दाङले पनि उक्त दिन कक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो। असोज २ गतेदेखि भने नियमित रूपमा कक्षा सञ्चालन हुने जनाएको छ।







