झाँकी प्रदर्शन गरेर गाइजात्रा मनाइँदै

काठमाडौँ, भदौ ११ ।

भदौ कृष्ण प्रतिपदाका दिन सोमबार काठमाडौँ उपत्यकामा मृतक आफन्तको स्मृतिमा गाई स्वरुप झाँकी प्रदर्शन गरेर गाइजात्रा मनाइँदैछ । वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा शुरु गरिएको थियो ।

त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरवार हनुमानढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भउको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरुपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रुप धारण गरेको भनिन्छ ।

एक समय यो जात्रालाई निरङ्कुशता विरुद्ध व्यङ्ग्य गर्न पाइने र आफ्ना कुण्ठित भावनालाई उजागर गर्न पाइने समयका रूपमा पनि उपयोग भयो । हिजोआज पनि व्यङ्ग्य र प्रहशन प्रस्तुत गर्दै एकथरीले यो जात्रा मनाउँदै आएका छन् । त्यसबेला बिफरले मानिस मर्दा मानिसभन्दा गाई धेरै रहन गएकाले गाईलाई नै यात्रामा सहभागी गराउन राजा प्रताप मल्लले उपयुक्त ठानेका हुन् भन्ने पनि कतिपयको भनाइ छ ।

भक्तपुरमा पनि यो जात्रा उत्सवका रूपमा मनाइन्छ । बि.सं.१४३७ राजा जयस्थिति मल्लको पालामा यहाँ यो जात्रा चलाउन थालिएको वंशावलीमा उल्लेख छ । घिन्ताङ्घिसी नाच र चारकुने लठ्ठीमा गाईको चित्र राखेर प्रदर्शन गरिने तायमचाः यहाँको प्रसिद्ध सँस्कृति हो ।

प्रकाशित मिति : २०७५ भाद्र ११ गते सोमवार
प्रतिक्रिया