आज जनै पूर्णिमा मनाइँदै

काठमाडौँ, भदौ १० ।

साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् । जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुन्छ भनिएको छ ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार जनै धारण गर्दा वा रक्षा वन्धन गर्दा दुष्ट प्रेत पिशाचले नसताउने र अशुभ विनास विघ्नवाधा हट्ने, मुद्दा मामलामा जीत हुने, सन्तान सुख हुन्छ भनेर भविष्य पुराणको उत्तरपर्वमा व्याख्या गरिएको छ । यमलाई यमुनाले डोरो बाँधिदिएर यमराजको रक्षा गरेको सन्दर्भमा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ । दानवद्वारा उपद्रव खेपेका देवताका गणलाई रक्षा गर्न गुरु वृहस्पतिले दानवराज वलिराजालाई मन्त्रणा गरिएको डोरोले बाँधेर राखेको प्रसङ्गसँगै तागाधारीले नाडीमा रक्षावन्धन बाँध्ने चलन छ ।

नुतन यज्ञोपवित धारणका लागि तागाधारीहरू शनिवार कपाल मुण्डन सहित एक छाके रहे भने जनै मन्त्रणा गर्नेहरू निराहार वसे । शुद्ध मानिएका घाट, पाटी, पौवा, त्रिवेणी, दोभानलगायतका स्थानमा जनै मन्त्रणा गर्ने व्राह्मणले यत्रतत्र स्थान ओगटेका छन् । जनैपूर्णिमाका लागि पशुपतिनाथ शनिवार साँझ जनै फेरेर गोसाइँकुण्ड जानुभएको छ । नाथलाई पशुपतिनाथका विसेट अरुण श्रेष्ठ मूलपूजारी तथा पालोवाला भण्डारीको सहयोगमा जनै फेराइएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १० गते आइतवार
प्रतिक्रिया