भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त कम्युनिष्ट नेतृत्वको अहिलेको सरकारले तीव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।
भक्तपुरको खरिपाटीमा शनिबार मदन भण्डारी एसियाली विद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सक्रिय रुपमा लागि परेको बताउनुभएको हो ।
उहाँले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारमा सहज बहुमत रहेका कारण यो सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण रहेको भएता पनि नेपाल आफैमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने बताउनुभयो ।
दुृई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चीनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उहाँले नेपालमा अब द्धन्द्ध व्यवस्थापन भइसकेकोले विकास र समृद्धिलाई पूर्णता दिने बताउनुभयो ।