पातुखोला गहिरदै जाँदा मानब बस्ती उच्च जोखिममा

ओपेन्द्र बस्नेत
तुलसीपुर, ६ साउन/दाङको तुलसीपुर बजारसंगै सटेको पातुखोलाकामा भएको ढुङ्गाजन्य वस्तुको अबैध उत्खननका कारण त्यस वरपरको मानव वस्ती उच्च जोखिममा परेको छ । हिउँदमा गरिने ढुङ्गा, गिट्टी, बालुवा र छर्रीको अबैध उत्खनन्ले बर्षातको समयमा खोलामा आएको बाढीका कारण खोला गहिरिदै गएपछि करिब तीन सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् ।
‘खोला गहिरिदै जान थालेपछि छेउँमा लगाएको जाली समेत बाढीले पल्टाएर बगायो,’ स्थानीय गीता पुनले भनिन , ‘आकाश गड्याङगुडुङ गर्दै पानी पर्न थाल्यो भने रातभरी निदै लाग्दैन ।’
स्थानीयका अनुसार साविकको भन्दा खोलाको सतह साढे तिन मिटर गहिरो भएको छ । विशेष गरी पातुखोलाको दक्षिण भेगको मानव वस्ती जोखीमा परेको संगित नगर टोल विकास संस्थाका सचिव छवि परियारले जानकारी दिए । पुलको उत्तर तर्फ, खोलाको पूर्व–पश्चिम भेगमा पनि जोखिम उत्तिकै रहेको बताउँदै सचिव परियारले वडा नम्बर ९ ले एकतर्फी रुपमा खोलामा गरेको तटबन्धका कारण बस्ती झै जाखिममा परेको बताए ।
जथाभावि रुपमा गरिएको उत्तखनन्का कारण खोलाले पश्चिम क्षेत्र छोडेर पूर्वी भेगमा धार परिवर्तन गरेको छ । केहिदिन देखि भइरहेको बर्षातका कारण पातुखोला छेउँमा बसोबास गर्दै आएका स्थानीयहरु रातभर जागराम हुने गरेको मनोज बस्नेतले बताए । ‘खोलाले धार परिवर्तन गरेर हाम्रो वस्ती तर्फ आयो,’ स्थानीयबासी बस्नेतले भने,’ ‘पोहर सालको जस्तो बाढी आउने हो भने धेरै मान्छेको उठीबास लाग्छ ।’
बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्दै आएका र खोला आसपासमा बस्दै आएकाहरुले पातुखोलालाई आर्थिक उपार्जनका साधनका रुपमा प्रयोग गर्न थालेपछि यस्तो समस्या आएको बताइएको छ । हिजो आज पनि बाढीले बगाएर ल्याएको ढुङ्गा स्थानीले उठाउने गरेका छन् ।
उत्खननका कारण खोलाको सतह असामान्य रुपमा गहिरिदै जान थालेपछि पातुखोलाको पुल, तलमाथि करिब दुई किलोमिटरको दुरीको वरपर (दुवैतर्फ) बनेका घरहरु उच्च जोखिममा परेको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए । मैना बगरदेखि दमारगाउँ डाँडाखुटी जानेबाटो सम्म स्थानीयले नै कुटो, कोदालो र ब्याल्चा प्रयोग गरेर हिउँदको समयमा ढुङ्गा, गिट्टी, बालुवा र छर्री उत्खनन गरेर विक्रि गर्ने गरेका छन् ।

पश्चिम दाङ जोड्ने पुल समेत जोखिममा
उत्खनन् कार्यले पश्चिम दाङ जोड्ने पातुखोलाको पुल समेत जोखिममा परेको भन्दै चिन्ता गरिन थालिएको छ । पुलको निर्माणकार्य सकिए लगत्तैबाट संरक्षणका विषयमा कुरा उठाएपनि आशा गरिए अनुसार काम नभएको जुद्ध एण्ड पुर्ण्निर्माण सेवाका पुर्णबहादुर भण्डारीले गुनासो गरे । पातुखोला पुलको मायाँ कसैलाई नभएका कारण यसको भविष्य लामो नभएको भन्दै भण्डारीले माथितिर भन्दा पनि तलतिर गरिने उत्खननले पुल बढी जोखिममा पर्ने बताए । पातुखोलाको पुल २०६६ मा चार करोड ६५ लाख लागतमा निर्माण गरिएको थियो । पुलको तलमाथि पाँच सय मिटरको दुरी सम्म नदिजन्य वस्तुको उत्खननु गर्न नपाईने व्यवस्था भए पनि सरोकारवाला निकायले चासो नदिदा दिर्घकालिन रुपमा यसले ठूलो मानविय र भौतिक क्षेति निम्त्याउने जानकारहरुले बताएका छन् ।
के भन्छ तुलसीपुर उपमहानगरपालिका ?
यता तुलसीपुर उपमहानगरपालिकाले स्थानीय संरक्षणमा जुट्ने प्रतिवद्धता गरेर आएमा तटबन्धका लागि तयार रहेको बताएको छ । स्थानीयको संरक्षण र सहयोग बिना जुनसुकै ठाउँमा निर्माण गरिएका भौतिक पूर्वाधार टीकाउ नहुने भन्दै मेयर घनश्याम पाण्डेले खोला संरक्षणका लागि सबै भन्दा पहिला खोलाको आसपासमा बस्नेहरु नै सजग र सचेत हुनुपर्ने बताए । खोलाले मानब वस्तीलाई पु¥यान सक्ने सम्भावित क्षेति प्रति आफुहरु पनि स्थानीयबासी जत्तिकै गम्भिर रहेको भन्दै मेयर पाण्डेले विशेष योजना बनाएर तटबन्धको काम यसै बर्ष देखि सुरु गरिने बताए ।

 

 

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार
प्रतिक्रिया