सल्यानमा पहिरो जाँदा ३ घर पुर्ण क्षति, १७ घरपरिवार विस्थापित

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, ३ भदौ ।
सल्यानको कुमाख गाउँपालिका वडा ५ टवालद्धारी भन्ने स्थानमा पहिरो जाँदा १७ घरपरिवार विस्थापित भएका छन् । गत शुक्रवार देखी लगातार परेको पानीका कारण शनिवार दिउँसो पहिरो जाँदा तिन घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । घर माथिबाट आएको पहिरोले घर पुर्ण रुपमा क्षति भएपनि दिउँसोको समय भएकाले केहि पशुचौपाय मरे पनि कुनै मानविय क्षति भने नभएको सल्यानका प्रहरी प्रमुख डिएसपि विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

पहिरो जाँदा स्थानिय राजकुमार पुनको ६ कोठे घर, कलौटे पुनको दुई कोठे र लोक बहादुर सुनारको घर पुर्ण रुपमा क्षति भएको छ । त्यस्तैगरी पहिरोको उच्च जोखीममा ६ घरधुरी र अति जोखीममा ८ घरधुरी रहेको डिएसपि शाहीले जानकारी दिएका छन् । यस्तै वडा नम्वर ३ जोगनीमा रहेको बाल जागृत आधारभुत विद्यालयको शौचालय पनि पहिरोका कारण पुर्ण रुपमा क्षति भएको छ ।

विस्थापित घरपरिवारलाई सोहि ठाउँको नजिकै रहेको मिलमा सुरक्षितका लागी सारिएको जनाईएको छ । प्रहरीका अनुसार पहिरोका कारण झन्डै एक सय जना मानिस प्रभावित भएका छन् भने अन्नपात, नगद र जिन्सी समान गरी १५ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र ३ गते आइतवार
प्रतिक्रिया