१ सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित,आजदेखि नयाँ मुलुकी ऐन कार्यान्वयनमा

दाङ,१ भदौ ।
शुक्रवारबाट नेपालमा नयाँ कानुन लागु भएको छ । मुलुकी देवानी र फौजदारी कार्यविधि अपराध संहिता ऐन, २०७४ शुक्रवार देखि लागू भएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । नेपालमा एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै आजदेखि नयाँ कानुन लागू भएको हो । संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’आजदेखि विधिवत रुपमा लागु भएको हो । सर्वोच्च अदालत र सरकारले एकै साथ कार्यान्वयन गर्न शुक्रवारबाट मातहतमा निकायलाई निर्देशन पनि दिदैछन् ।
नयाँ कानुन लागू भएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, कोर्ट फी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, करार ऐनलगायत १५ वटा पुराना कानुन खारेज गरिएको छ । मुख्य ६ वटा अपराधमा जन्म कैदको अथवा बाचुन्चेल जेल सजायको व्यवस्था गरिएको छ ।
ब्यवस्था परिवर्तित कानूनमा सर्वस्व सहित जन्मकैदलाई हटाएर बाँचुन्जेलसम्म कैदको व्यवस्था गरिएको र जन्मकैदको अवधिलाई बढाएर २५ वर्ष पुफ्याइएको छ ।

मुलुकी देवानी र फौजदारी कार्यविधि अपराध संहिता ऐन निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तराष्ट्रिय कानूनलाई आधार बनाइएको तत्कालिन कार्यदलको दावी छ ।संहितामा सजायको वर्गीकरण गरी कसूरको प्रकृति र गम्भीरताका आधारमा आजीवन कैद, जन्मकैद, निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति, कैद, जरिवाना वा क्षतिपूर्ति वा दुवै, जरिवाना वा क्षतिपूर्ति नतिरेबापत कैद, कैदको सट्टा सामुदायिक सेवामा लगाउन जस्ता सजायका व्यवस्था गरिएका छन् ।
यस्तै अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ ।विवाहको लागि अबदेखि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने भएको छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ ।यस्तै नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १ गते शुक्रवार
प्रतिक्रिया