तुलसीपुरमा विद्युत चोरी नियन्त्रण अभियान: विद्युत चोरी गर्ने १८ जनाले डेढ लाख जरीवाना तिरे

तुलसीपुर,१४ साउन ।

तुलसीपुर क्षेत्रमा विद्युत चोरीका घटना बढ्न थालेपछि नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका अन्र्तगत विभिन्न वडामा विद्युत चोरी गर्ने क्रम बढ्न थालेपछि चोरी नियन्त्रण अभियानलाई तिब्रता दिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख दिपकजंग चौधरीले जानकारी दिनुभयो ।

आइतबार राति प्रहरीको सहयोगमा प्राधिकरणले एउटै वडाको एउटै गाउँबाट विद्युत चोरी गरेको आरोपमा १८ जनालाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ परेका सबै तुलसीपुर उपमहानगरपालिका–१२ कचीलाका रहेको वितरण केन्द्रका प्रशान प्रमुख युवराज विष्टले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई एक लाख ६३ हजार दुई सय २० रुपैयाँ जरीवाना गरि छोडिएको छ । जस मध्य सबै भन्दा बढी विद्युत चोरी गरी सःमील संचालन गर्दै आएका तुलसीपुर १२ कचीलाका कृष्ण चौधरीले ८३ हजार ९ सय ८८ रुपैयाँ जरीवाना तीरेका छन् ।

त्यसैगरी उमेश चौधरीले १७ हजार ९ सय ४०, पुष्कर योगीले ७ हजार ६ सय ५६, भुपबहादुर चौधरी ५ हजार २ सय २०, महेन्द्रा चौधरी ४ हजार ३ सय ८०, निम नारायण चौधरी ४ हजार ३ सय ८०, हरी चौधरी ४ हजार ३ सय ८०, चन्द्र बहादुर चौधरी ४ हजार ५ सय ४८, पुन बहादुर चौधरी ३ हजार ७ सय ८, सञ्जीत चौधरी ३ हजार ३०, सोमराज चौधरी ३ हजार ६०, पार्वती चौधरी ७ हजार ४ सय ५२, सुशीला चौधरी २ हजार ९ सय १६, अगनी चौधरी २ हजार ५२, भुवेश चौधरी २ हजार ५२, जगत चौधरी २ हजार १६ र जनक चौधरीले २ हजार रुपैयाँ जरीवाना तिरेका छन् ।

उनिहरुलाई विद्युत चोरी नियन्त्रण नियमावली २०५९ अन्र्तगत पंखा, बल्ब, टिभी, हीटर प्रयोग गरेका आधारमा जरिबना गरिएको केन्द्र प्रमुख चौधरीले जानकारी दिनुभयो । गत आइतबार मात्रै केन्द्रले तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीबाट १३ जनालाई पक्राउ गरी ७५ हजार रुपैयाँ जरीबाना गरेर छोडेको थियो । केन्द्रका अनुसार यस क्षेत्रमा अझै पनि एक सय बढी विद्युत चोरी गर्ने समुह सक्रिय रहेका छन् ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार
प्रतिक्रिया