आज साउनको पहिलो सोमबार,शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो

तुलसीपुर,७ साउन ।

आज साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ । साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भैरहेको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा छ । यता तुलसीपुरको कालिका मन्दीरमा पनि बिहानैदेखि दर्शनार्थी महिलाको भिड लागेको छ ।

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमवार
प्रतिक्रिया