नेपाल कम्युनिष्ट पार्टीको विधान र नियमावली तयार

दाङ , ५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विधान र नियमावली तयार भएको छ । नेकपाले करिब एक महिनाको छलफल र सुझावसहित विधान र नियमावलीलाई शनिबार अन्तिम रुप दिएको हो । नेकपाले स्थायी समितिको राय र पटक पटकको विशेष समितिको बैठकपछि ६४ पृष्ठको विधान र ५० पृष्ठको नियमावली तयार पारेको हो । विधान १७ अध्यायको बनाइएको छ ।
त्यसमा ७३ धारा र ८ अनुसूची छ । नियमाली १० परिच्छेदको छ ।

त्यसमा २९ धारा र ८ अनुसूची छन् । नेकपाले विधान तथा नियमावली परिमार्जन गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । कार्यलमा वामदेव गौतम र रामबहादुर थापा बादल रहेका छन् ।कार्यदलले पेश गरेको विधान तथा नियमावली मस्यौदाबारे एकसातादेखि सचिवालय बैठकमा छलफल हुँदै आएको थियो । सचिवालयको रायसहित अन्तिम रुप दिएको विधान र नियमालीलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले स्वीकृत गरेपछि छपाइका लागि पठाएको हो ।

एमाले र माओवादी केन्द्रबीचको एकतापछि पार्टीको विधान तथा नियमावली तयार नहुँदा नेकपाको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगर र वडा कमिटी निर्माण हुनसकेको थिएन । त्यस्तै, वर्गीय संगठनको समेत एकीकरण हुन सकेको थिएन । अब ती सबै कमिटी र संघ, संगठनको एकीकरण गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २०७५ साउन ५ गते शनिवार
प्रतिक्रिया