तुलसीपुर, २६ असार
तुलसीपुरमा बसले किचेर मृत्यु भएको भनिएका व्यक्ति जिवितै फेला परेका छन् । बसले किचेर मृत्यु भएका भनिएका व्यक्ति, शान्तिनगर गाउँपालिका ३ बस्तीखोला निवासी लक्षीराम बिटालु सम्पर्कमा आएपछि उनि जिवित भएको पुष्ठि भएको हो । बिटालुका छोरा धनबहादुर विकले मृतक व्यक्ति आफनो वावु भएको प्रहरी सामु दाबी गरेका थिए । बसले किचेर बिटालुको मृत्यु भएको खबर पाएलगत्तै उनकी श्रीमती, छोरा, छोरी, बुहारी र छिमेकी घटनास्थल देखि राप्ती अंचल अस्पतालको पोष्टमार्टम गृहमा पुगेर रोइकराई गरेका थिए ।
घटना मंगलबार बिहान साढे १० बजे भए पनि शबलाई मेरो हो भन्दै दाबी गर्ने दुई पक्ष भेटिए पछि प्रहरीलाई करिब ३ घन्टा तनाब बेहोर्नु परेको थियो । आफुलाई मृतकको भतिजा बताउने ओमेन्द्र वलीले आफनो काका र धनबहादुरले आफनो वावु भएको भन्दै दाबी गरपछि प्रहरी अन्योलमा परेको थियो । घटना भए लगत्तै विकले आफनो वावु भएको दाबी गरेपछि प्रहरीले संचारमाध्यमलाई बिटालुकै नाम दिएको थियो ।
आ–आफनो भएको दाबी गर्नेका बिच विवाद बढ्न थालेपछि मृतकको झोला चेकजाँच गर्ने क्रममा रुकुम खलङ्गा ४ निवासी ६७ बर्षका बलबहादुर खड्का नाम गरेको नागरिकता फेला परेको थियो । आफन्त र नागरिकताको आधारमा मृतक रुकुमकै बलबहादुर खड्का रहेको पुष्टि गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले भने ‘पैसा पाउन जिउदो मान्छेलाई पनि मरेको भनेर दबी गर्छन । एकछिन त तनाबै गराए । रुकुममा पनि घरपरिवारले दाङ गएको भने र झोलामा नागरिकता, लालपुर्जा फेला परेपछि हो भन्नेमा पुगेका हौं ।’
तुलसीपुरको बसपार्कमा सडक पार गर्ने क्रममा ना५ख ५७६८ नम्बरको बसले पैदलयात्रु खड्कालाई विहान करिब साढे १० बजे तिर ठक्कर दिएको थियो । यात्रुलाई ठक्कर दिए लगत्तै सवारी चालक भागे पनि बसलाई पनि भने प्रहरीले नियन्त्रणमा लिएको छ ।