काममा ढिलासुस्ती गर्ने नौ ठेकेदारको सूची गृहमा

रुकुम पश्चिम  ।
आयोजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ९ ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा बुझाइएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न आयोजनामा सम्झौता अवधि भन्दा धेरै समयसम्म पनि काम नसक्ने ९ ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा पठाएको हो ।

सडक, सडक पुल, बसपार्क, सिँचाईलगायतका आयोजनामा ढिलासुस्ती भएको पाइएकाले सम्बन्धित ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । चौरजहारी नगरपालिकामा बसपार्क निर्माणको काममा ढिलासुस्ती गर्ने मोतिदानरबाँनिया कन्ट्रक्सन सेवा, चौरजहारी बसपार्क–सिमलेखोला–त्रिवेणि–खहरे–लहरे–पीपलबोट–प्रियाटाकुरा–खहरे सडक निर्माणको जिम्मा लिएको मोतिदान÷बाँनिया कन्ट्रक्सन सेवा, आठबीसकोट सिँचाई उप–आयोजनाको जिम्मा लिएको खड्का कृष्ण कन्ट्रक्सन सेवा, मेगापुल पूर्तिमकाँडा गरायलाको सडक पुल निर्माणको जिम्म लिएको सपना सेलुङ्ग जेभीको सूची जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाएको हो ।

यस्तै गरी भरलाखोला पुल बाँसखोला निर्माणको जिम्मा लिएकोे नागार्जुन कन्ट्रक्सन कम्पनी, बाँसखोला पुल बाँसखोलाको जिम्मा लिएको नागार्जुन कन्ट्रक्सन कम्पनी, फलामेगौंडा–नदुवा–खदी–गोतामकोट सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सन कम्पनी, त्रिभुवन जनता मावि भवन निर्माणको जिम्मा लिएको सस्छन्द सूर्य जेभी, नयाँ सहर आयोजनाको भवन निर्माणको जिम्मा लिएको रोशन कन्ट्रक्सन कम्पनीको कामका प्रगतिसहितको प्रतिवेदन गृहमा पठाइएको छ ।

प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार
प्रतिक्रिया