चार थान भरुवा बन्दुक सहित तीन जना पक्राउ

मिना बुढाथोकी , सल्यान १८ असार ।
सल्यानमा अवैध हात हतियार सहति तीन जना पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नं ३ चिनाली बजार स्थित विभिन्न व्यक्तिको घर,बारी र झाडीमा लुकाई राखेको चार थान भरुवा बन्दुक,एक थान ब्यारेल,फलामका टुक्रा, छर्रा बरामद गरिएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले बताए ।

घटनाको अनुसन्धानका लागी प्रहरीले कुमाख गाँउपालिका वडा नं.३ बस्ने ५० वर्षीय शेर बहादुर पुन,सोही ठाँउका ५२वर्षीय छबिलाल चलाउने,र ४५ वर्षीय मन बहादुर रानालाई आईतबार राती पक्राउ गरेको प्रहरी प्रमुख विकले जनाए । आरोपित तिनै जनालाई आज सोमवार पत्रकार सम्मेलन गरि सार्वजनि गरिएको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक भानु शर्मा सहितको टोलीले आईतबार हतियार बरामद गरेको होे । आरोपित हरु दोषी देखीए हातहतियार खरखजना ऐन २०१९ अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनायो । समाजमा शान्ती सुव्यवस्थामा खलल पार्न सक्ने भएकोले सल्यान प्रहरी यस्ता अवैध हातहतियार खरखजना नियन्त्रण गर्ने विशेष अभियान संचालन गरेको छ ।

यस भन्दा अगाडी पनि प्रहरी नायब उपरिक्षक भरत वि.क को विशेष पहल तथा सुचना सकंलन गरी ४ नाल घरेलु हतियार वरामद गरी दोषीलाई कानुन वमोजिम कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार
प्रतिक्रिया