तुलसीपुरको फोर ल्याण्ड सडक बन्द गर्ने चेतावनी

ओपेन्द्र बस्नेत
तुलसीपुर, १२ आसाढ / तुलसीपुर–घोराही फोरल्याण्ड सडकको निर्माण कार्य बन्द गर्ने निर्माण सेवाले बताएको छ । सडक निर्माणको काम तिब्र गतिमा अघि बढेपनि सम्बन्धित निकायबाट रकम निकासा नहुँदा पुनः काम बन्द गर्ने अवस्थामा पुगेको सब कन्टयाक्टर प्रकाश महताराले बताउनुभयो ।
महताराले एक करोड २५ लाख रुपैयाँ तत्तकाल पाउनु पर्ने माग गरेका छन् । बिलभर्पाई बुझाएको २८ दिनमा भुक्तानी गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि ४÷५ महिना सम्म रकम निकासा नभएको उहाँले गुनासो गर्नुभयो । एक करोड ८२ लाखको बिलभर्पाई बुझाएको बताउने महताराले हाल सम्म ५७ लाख रुपैयाँ मात्र पाएको बताउनुभयो ।
‘काम गरेको पैसा आउला र साहु ऋण बुझाउँला भनेर ब्याजमा ऋण काडेर काम गरे’ महताराले भन्नु भयो, ‘डिभिजनले बजेट छैन आएपछि हुन्छ, भन्छ । रकम भुक्तानी दिदैन ।’ आफन्तसंग पैसा सापटी लिएर बाटोमा खन्याएको भन्दै महताराले डिभिजनले समयमै पैसा नदिए काम बन्द गर्नुको बिकल्प नभएको बताउनुभयो ।

अठाह्र (१८) महिनामा निर्माण कार्य पुरा गर्ने गरी गौरी पार्वतीले चार बर्ष अघि कार्तिक २०७०मा भ्याट सहित साढे पाँच करोडमा डिभिजन सडक कार्यालयसंग सम्झौता गरेको थियो । तुलसीपुरको घोराही चोक देखि हात्ती खौवा सम्मको साढे सात सय मिटर लम्बाई र नाला सहित ३० मीटर चौडाई रहेको सडकको एकतर्फी सडक एक लिएर (कालो पत्रे) गरिएको छ भने उत्तर तर्फको सडकमा बेसको काम भइरहेको छ । सडक निर्माण सम्पन्न गर्न थप ७० लाख आवश्यक पर्ने महताराले बताए ।

यस अघि फोरल्याण्ड सडक निर्माणको कामको जिम्मेवारी लिएका सब कन्टयाक्टर पदमराज शर्माले ४ बर्ष सम्म २० प्रतिशत काम गर्न नसकेपछि चर्को जनदबाब पश्चात उनको अख्तीयारी खोसेर गौरी पार्वतीले महतारालाई दिएको हो ।
असाढ मसान्त सम्म सबै काम सम्पन्न गर्ने गरी सव कन्टयाक्टर महताराले गत असोजमा गौरी पार्वतीसंग ठेक्का लिनुभएको थियो । सडकको निर्माण कार्य समयमै सम्पन्न गर्न स्थानीयले विभिन्न समयमा दबाब स्वरुप चक्काजाम गरेर तुलसीपुर–घोराही सडक अवरुद्ध समेत गरेका थिए ।
यता डिभिजन सडक कार्यालय दाङले समयमै बजेट आउने बताएको छ । असाढ मसान्त सम्म बजेट निकासा हुने डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले बताउनुभयो । २३ अरब भन्दा बढिको जिम्मेवारी रहेको भन्दै डिभिजन प्रमुख शर्माले सयौं योजना अहिले पनि निर्माणाधिन अवस्थामा रहेकाले सडक विभागबाट छिटै बजेट निकासा हुने बताउनुभयो ।
कामका आधारमा रकम निकासा हुने भएकाले निर्माण व्यवसायी आत्तिहाल्नु पर्ने अवस्था नरहेको उहाँको भनाई छ ।
दिन गनेर बसेछु ः सिडीयो
यता प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पैसा छैन भनेर काम रोक्न नपाइएने बताउनुभएको छ । असाढ २० गते सम्म सडकको काम पुरा गर्छु भनेर ठेक्का लिएकाले आफुले दिन गनेर बसेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।
‘ ३÷४ बर्ष सम्म पैसा फालाफाल हुने बेला काम नगर्ने अहिले पैसा छैन भन्न पाइन्न,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठेले भन्नुभयो, ‘ यो ठेगदारको बाहाना हो । पैसा आउँछ । डि–साव पैसा ल्याउन काठमान्डौ जानुभा छ ।’
पहिलाको निर्माण व्यवसायीले तोकेको समयमा काम गर्न नसकेपछि पछिल्लो निर्माण व्यवसायीले त भर्खरै ठेक्का लिएका हुन नि ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ‘जान्ने भएर किन अर्काले गर्न लागेको काम ठेक्का लिने ?’

 

 

 

 

प्रकाशित मिति : २०७५ असार १२ गते मङ्गलवार
प्रतिक्रिया