अबुजा / एजेन्सी– नाइजेरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीच भएको हिंसात्मक झडपमा परी कम्तीमा पनि ८६ जनाको मृत्यु भएको छ । बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि हिंसा सुरु भएको थियो ।
बिहीबार सुरु भएको सो झडपपछि शनिबार प्रत्याक्रमण हुँदा थप सर्वसाधारणको मृत्यु भएको हो । भूमिका लागि लड्दै आएका आदिवासी समूहबीच सो क्षेत्रमा बेलाबेलामा साम्प्रदायिक हिंसा हुँदै आएको छ ।
घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । हिंसात्मक भिडन्तपछि गाउँमा गरिएका खोजका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताएका छन् ।
सो झडपका क्रममा ५० वटा घर तथा १५ वटा मोटरसाइकल र दुईवटा गाडीमा समेत आगो लगाइएको थियो । जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्य नाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच झडप हुने गरेका छन् ।
गत वर्ष मात्रै भएका यस्तै झडपमा हजारभन्दा बढीको मृत्यु भएको थियो । फिरन्ते गोठालाहरू फुलानी आदिवासी हुन् । जसमध्ये अधिकांश मुस्लिम छन् भने किसानहरू इसाई धर्मावलम्बी रहेका छन् ।
मालीमा ३२ जनाको मृत्यु
यसैबीच, मालीको मध्यक्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आमनागरिकको मृत्यु भएको छ । घटनाका कारण अरू १० जना बेपत्ता भएको पनि सरकारी अधिकारीले जानकारी दिएका छन् । स्थानीय आदिवासी सिकारीको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ ।
मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाउँमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो सिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिकासहित पशुपालक किसान पनि रहेको जनाएको छ ।
स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भने, ‘उनीहरूले चारैतिरबाट गाउँलाई घेरे, रक्तपातपूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन् ।’ उनले घटनामा परी अरू १० जना बेपत्ता भएको पनि जानकारी दिए ।
मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिलेसम्म केही पुष्टि गरेको छैन । पछिल्लो तीन वर्षमा मध्यमाली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् । फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानबीचमा डोजोन ल्यान्डमा झगडा हुँदै आएको छ ।