हिमाल शर्मा , सल्यान १० असार ।
दार्मा गाउँपालिकाले गाउँपालिकाका सवै वडामा इन्टरनेट सेवा पु¥याएको छ । सल्यान जिल्लाको दुर्गम गाउँपालिका दार्मा गाउँपालिकाले गाउँपालिका कार्यालय र ६ वटै वडाहरुमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । सवै वडा कार्यालयहरुमा इन्टरनेट जडान गरेपछि कार्यालयको कामकाजमा सहजता आएको उहाले बताउनुभयो ।
दार्मा गाउँपालिकाका अधिकांश ठाउँमा फोनको नेटवर्कले काम गर्दैन । फोनको नेटवर्कले काम नगरेपनि गाउँपालिकाले सवै वडामा इन्टरनेट सेवा जडान गरेपछि दैनिक कामकाजमा सहजता आएको गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत राजकुमार वलीले बताउनुभयो । सानो तिनो काम गर्नका लागी पनि सदरमुकाम क्षेत्रमा जान नपर्ने भएको उहाले बताउनुभयो ।
गाउँपालिकाको साढे ३ लाखको लागतमा इन्टरानेट सेवा विस्तार गरिएको हो । गाउँपालिकामा पर्ने चिप्लेको लेक र मालिकाको लेकमा टावर राखेर इन्टरनेट सेवा संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । फोन नलाग्ने ठाउँमा फ्रि इन्टरनेट सेवा पाएपछि वडा कार्यालयमा पुगेर स्थानियहरुलाई विदेशमा रहेका आफन्तसँग भिडियो कुराकानी गर्न सजिलो भएको छ ।