मैदानमै धुरुधुरु किन रोए नेइमार ?

तुलसीपुर,९ असार ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जित्यो । ९० मिनेटको खेल सकिन केही मिनेट मात्र बाँकी रहेको बेला पाएको पेनाल्टी समेत भीएआर रिभ्यूमा खोसिएपछि ब्राजिलियन टिम निकै दबावमा थियो ।

तर, ९१ औं मिनेटमा कोउटिन्होले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा नेइमारले गोल गर्दै जित सुनिश्चित गरे । खेलभर आक्रामक देखिएको ब्राजिलले ९० मिनेटसम्म गोल गर्न नसक्दा खेलाडीहरु केही निराश देखिन्थे । एकपछि अर्को प्रयास असफल भएपछि आक्रोस पोख्ने क्रममा ८१ औँ मिनेटमा खेल भावना विपरीत व्यवहार गरेका कारण नेइमार र कोउटिन्होले पहेँलो कार्ड पाए ।

त्यसअघि उत्कृष्ट मुभ बनाइरहेका बेला ७९ औं मिनेटमा कोस्टारिकाको डिबक्सभित्र नेइमार लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसले हौसिएको ब्राजिलियन लाइन धेरैबेर खुशी रहन पाएन । कोस्टारिकाका खेलाडीको चर्को विरोधपछि भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० मा जाँदा पेनाल्टी नभएको पाइएको थियो ।

पूरा समय मेहनत गरेर कठीन जित पाएकाले खेल सकिएपछि नेइमार मैदानमा घुँडा टेकेर नराम्ररी रोए । लभलग कोस्टारिकाले रोकिसकेको खेलमा जित निकाल्न सक्दा उनले खुशीका आँसु झारेका हुन् । विश्वकप अघि घाइते रहेका उनको चोट पहिलो खेलपछि अभ्यासका क्रममा पनि बल्झिएको थियो ।

पूर्ण रुपमा फिट नहुँदा नहुँदै खेलेका उनले रुस विश्वकपमा पहिलो गोल गरेसँगै आँसु थाम्न सकेनन् । उनका टिममेट जितको खुसी मनाइरहेका बेला उनी भने दुबै हातम मुख छोपेर धेरै बेर रोइरहे । ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्हो र नेइमारलाई रोक्न सकेनन् ।

प्रकाशित मिति : २०७५ असार ९ गते शनिवार
प्रतिक्रिया