बाँझो जमीन राख्नेलाई जरीवाना देखि सुकुमबासीलाई घर सम्मका कार्यक्रम

ओपेन्द्र बस्नेत
दाङ तुलसीपुर, ८ असाढ / तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्षलाई व्यावसाियक कृषि तथा पशुपालन वर्षको रुपमा मनाउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख घनश्याम पाण्डेले विभिन्न कार्यक्रम अन्तर्गत ६ सय विगाहा जग्गामा व्यावसायिक फलफुल बगैचा निर्माण गर्न र ५ सय विगाहामा व्यावसायिक तथा बेमौसमी तरकारी खेति उत्पादन गर्ने बताए ।
त्यसैगरी मेयर पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा व्यावसायिक मह उत्पादन तथा प्रशोधन , दुध, मासु र अण्डाको उत्पादनलाई वृद्धि गर्न र उत्पादित वस्तुहरुसँग सम्वन्धित उद्योग स्थापना गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

“प्रांगारिक कृषि उत्पादनमा वृद्धि , नागरिकको स्वास्थ्य र नगरको समृद्धि” भन्ने नारा सहित कृषि पकेट क्षेत्र निर्धारण गरी उत्पादन तथा उत्पादकत्व वढाउन कृषि सामग्री, सीप, पूँजि र प्रविधिको प्रयोगलाई व्यापक वनाइने कार्यक्रममा उल्लेख छ ।
उपमहानगरपालिकाले प्रांगारिक कृषि उत्पादनलाई विस्तार गर्दै वजार क्षेत्रमा प्रांगारिक उत्पादनहरु पाइने पसलहरु सञ्चालन गर्न स्थानीय समुदाय वा सहकारीलाई सहयोग प्रदान बताएको छ । नीति तथा कार्यक्रममा व्यावसायिक पशुपंक्षी तथा माछापालनमा जोड, २५ हजार लिटर दैनिक दुध संकलन, कृषि योग्य जमीनको खण्डीकरणमा रोक, र १५ सय हेक्टर जमीनलाई पुर्ण सिंचाईयुक्त बनाइने बताइएको छ ।
कुनैपनि जमीनलाई बाँझो राख्न नपाईने नीति अघि सारेको उपमहानगरपालिकाले बाँझो राखेमा अतिरिक्त मालपोत शुल्क र वर्षमा तीन वाली उत्पादन गर्ने कृषकलाई करमा छुट दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।


त्यसैगरी प्रत्येक बर्ष ‘घुम्न जाऔं तुलसीपुर’ अभियानलाई सफल पार्न तुलसीपुरमा पर्यटकीय रोजाईका आवास,परिकार, मनोरञ्जन, खेलकुद,महोत्सव आदिको गुणस्तरिय सेवा उपलब्ध गराउन निजी तथा सहकारी क्षेत्रलाई प्रेरित कार्यक्रम अघि सारिएको छ । पर्यटकीय सम्भावना वोकेका चमेर गुफा, छिल्लीकोट, थर्कोट, राप्ती शान्ती उद्यान, दंगिशरण दरवार, गौरीगाउँ ताल, बबई नदी लगायतका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक स्थलहरुलाई थप सौन्दर्यकरण र सुविधाजनक वनाइने बताइएको छ । स्वस्थ नागरिक सम्पन्न नगर अभियान अन्र्गत तुलसीपुर उपमहानगरपालिकाका हरेक नागरिकको वर्षमा दुइपटकसम्म स्वास्थ्य जाँच गर्ने बानी पार्न विशेष अभियान सञ्चालन गर्ने , सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यप्रति सजग रहदै हरेक सन्ततीलाई अब्बल नागरिकको रुपमा विकास गर्नुका सथै गुणस्तरीय स्वास्थ्य सेवामा सवैको पहुँच हुनेगरी स्वास्थ्य सेवा उपलव्ध गराउन राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रमलाई यसै वर्ष देखि तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र गर्ने कार्यक्रम तय गरिएको छ । शिक्षा तर्फ चार वर्ष उमेर समूहका सवै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्ने तथा अनौपचारिक शिक्षा अन्र्गत ६० वर्ष उमेर नपगेका निरक्षरलाई साक्षर वनाउन कक्षा ११ र १२ का विद्यार्थीलाई स्वयं सेवकको रुपमा परिचालन गरिने बताइएको छ ।

त्यसैगरी तुलसीपुरलाई महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथा लगायतका सम्पूर्ण गलत प्रचलन, तथा प्रवृत्तीलाई अन्त्य गरी लैङ्गिक समानता सहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माण बताइएको छ । त्यस्तै तुलसीपुरको पहिचान ः सबै जातजातिको सम्मान” नगर बस संचालन, सडकलाई कम्तिमा ८ मिटर १२ मिटर सम्मको चौडाईमो मापदण्ड वनाई लागु गर्ने, तुलसीपुरमा आइटि पार्क निर्माण गर्ने गगाएतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि तल क्लिक गर्नुहोला

नीति तथा कार्यक्रम

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार
प्रतिक्रिया