दाङ, असार ७ । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले मृगौला पिडित बिरामी गंगाराम नकाललाई दश हजार रुपैया सहयोग गरेको छ । हाल काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बेलझुण्डी निवासी ३३ बर्षिय नकाललाई एक कार्यक्रमको आयोजना गरी सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले दश हजार रुपैयाको चेक उहाँका भाइ बिनाराम नकाललाई हस्तान्तरण गरेको हो ।
सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङका शेयर सदस्य समेत रहेका बिनारामका दाजु गंगारामको उपचारलागि आर्थिक सहयोग गर्न संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले अनुरोध समेत गर्नुभएको छ । चार बर्षदेखि उपचाररत नकालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या देखिएको भन्दै संस्थाले सहयोगका लागि सवैलाई आग्रह गरेको हो । चिकित्सकहरुले गंगारामका दुवै मृगौला फेर्नुपर्ने बताएको उहाँका भाई बिनारामले बताउनुभयो ।