तुलसीपुर, १९ मंसिर । दाङको तुलसीपुर–८ मा रहेको माध्यामिक विद्यालय अश्वारामा गणित बिषयका शिक्षक डिल्ली बहादुर खत्रीले अझै हाजिर गर्न पाउनुभएको छैन । विद्यालयका गणित विषयका शिक्षक तथा यसअघिका प्रधानाध्यापक हिरालाल न्यौपानेको २०८१ असार २३ गते सरुवा भएपछि रिक्त रहेको पदमा तुलसीपुर–१९ मा रहेको माध्यामिक विद्यालय भित्रीसक्रामका गणित विषयका शिक्षक खत्री आउनुभएको थियो । २०८१ असोज १२ गते तुलसीपुर उप–महानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय र नगर शिक्षा समितिको २०८१ कात्तिक ५ गतेको दरवन्दी मिलानको निर्णय अनुसार शिक्षक खत्री कात्तिक २९ गते सरुवाको पत्रसहित मावि अश्वारामा जानुभएको हो । तर, विद्यालयले उहाँलाई आजसम्म पढाउन त परको कुरा हाजिरसमेत लगाउन दिएको छैन । जसले गर्दा विद्यार्थीको पढाई प्रभावित हुदै गएको छ ।
विषयगत शिक्षक नहुदा पठनपाठनमा समस्या भइरहेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुका अनुसार तल्लो तहका शिक्षकले कामचलाउ रुपमा गणित विषय पढाउदै आएपनी विषयगत शिक्षकले पढाएजस्तो नभएको पाइएको छ । अहिले कक्षा ९ र १० मा निमावी तहका शिक्षक गोविन्द बस्नेतले पढाउदै आएको भन्दै उनीहरुले एउटै शिक्षकले तल्लो तहदेखी मातिल्लो तहसम्मका विद्यार्थीलाई पढाउदा बढि प्रेसरको महसुस भइरहेको उनीहरुले बताएका छन् । गणित विषयका नयाँ शिक्षक विद्यालयमा आउने तर हाजिर पनि नलगाएर बाहिरैबाट फर्केर जानुपर्ने अवस्था रहेकाले तत्काल उक्त शिक्षकलाई हाजिर लगाई आफुहरुलाई पढाउने वातावरण विद्यालयले बनाइदिनुपर्ने उनीहरुको माग छ ।
यता अभिभावकहरुले पनि गैर अभिभाव विद्यालयमा घुस्दा आफ्ना छोराछोरीको भविष्य अन्यौलमा पर्ने संभावना रहेको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाहका कुनै पनि छोरा–छोरी र नाती–नातिनालेसमेत मावि अश्वारामा नपढ्ने भएकाले उनलाई विद्यालयप्रति कुनै चासो नभएको पाइएको छ । विव्यसको काम, कर्तव्य र अधिकार अनुसार विद्यालयको समग्र विकासका लागि रणनीतिक योजना बनाउने, वडा, पालिका, प्रदेश र संघिय सरकारमा गएर समस्या प्रस्तुत गर्ने, आवश्यक बजेटका लागि नेताहरुसंग छलफल गर्ने स्वभाव अध्यक्ष शाहको छैन् । जसका कारण विद्यालय झनपछि झन समस्या पर्ने आँकलन गर्न थालिएको छ ।
यता विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामीछानेले भने गणित विषयका शिक्षकलाई हाजिरी लगाउन नदिनुमा आफ्नो कुनै भुमिका नरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै सल्लाह अनुसार अहिले हाजिर गर्न र पढाउन नदिएको उहाँले बताउनुभयो । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहले तुलसीपुर उपमहानगरपालिकाका मेयरसँग भेटेर आफ्ना कुरा राखेर मात्रै गणित विषयका शिक्षकलाई हाजिर लगाउन दिने बताउनुभएको छ । तर, आजसम्म उहाँले मेयरसँग भेट्ने कुनै पर्यत्न भने गर्नुभएको छैन ।।