सरकार अधिनायकवादतर्फ उन्मुख भएको काँग्रेसको आरोप

तुलसीपुर,५ असार ।
नेपाली कँंग्रेसका शीर्ष नेताले कम्युनिष्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । आजदेखि हेटौंडामा सुरु भएको जिल्ला सभापतिको भेलामा बोल्दै शीर्ष नेताले अदालतमा राजनीतिक हस्तक्षेप बढ्नु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु, व्यापारीलाई धम्क्याउने जस्ता क्रियाकलापले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि हुने जिकिर गरेका हुन् ।

भेलाको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले एकपछि अर्को गर्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विदेशीसँग लम्पसार परेको र अराष्ट्रिय काममा लागेको आरोप लगाउनुभयो । आफूले थुप्रै राम्रा काम गर्न खोजे पनि निर्वाचनको समय भएकाले सम्भव नभएको भन्दै उहाँले एकपटक चुनाव हार्दैमा निराश हुनु नपर्ने बताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वर्तमान सरकार अधिनायकवादतर्फ लम्केको संकेत देखिन लागेको आरोप लगाउनुभयो । उहाँले सरकारले भोट नहालेकै शङ्कामा विकासमा पनि विभेद गरेको दाबी गर्नुभयो ।

पार्टीमा एकताको गफ गरेरमात्रै नहुने भन्दै उहाँले तल्लो तहका कार्याकर्तालाई समेत न्याय दिलाउने गरी ऊर्जा दिनुपर्नेमा जोड दिनुभयो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले विवादभन्दा पनि पार्टीलाई सुदृढ बनाउन र पाँच वर्षभित्र काँग्रेसकोे बहुमतको सरकार बनाउने गरी काम गर्न जिल्ला सभापतिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महामन्त्री शशाङ्क कोइराला र संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गुटगत राजनीति त्याग्दै पार्टीलाई एक ढिक्का बनाउन पार्टी शीर्ष नेतृत्व र जिल्ला सभापतिलाई आग्रह गर्नुभयो । तीन दिनसम्म चल्ने भेलामा ७७ ओटै जिल्लाका पार्टी सभापति र केन्द्रीय समिति सदस्यको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७५ असार ५ गते मङ्गलवार
प्रतिक्रिया