काठमाडौं,५ असार ।
भारतको पुणेमा एक करोड रुपैयाँ बराबरका गहना र नगद चोरेको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय गोविन्द कालु परियारलगायत रहेको पुणे मिरर अनलाइनले लेखेको छ । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।
केन्द्रीय रेलवेका मुख्य सुरक्षा आयुक्त अतुल श्रीवास्तवका अनुसार ति नेपालीहरुलाई नेपालको सीमा क्षेत्रतर्फ प्रस्थान गर्न लागेको रेलबाट सोमबार पक्राउ गरिएको थियो । उनीहरुमाथि पुणेको एक पसलबाट हिराका गहना र नगद चोरेको आरोप छ । चोरी भएको खबरलगत्तै सुरक्षासर्च अपरेशन सुरु गरिएको थियो ।
चोरीमा संलग्न भएका भनिएकाहरु नेपाल फर्किन सक्ने आशंकाले नेपालको सीमा क्षेत्र हुँदै चल्ने भारतीय रेलहरुमा बढी निगरानी बढाइएको थियो । मुख्य आरोपी गोविन्दले प्रयोग गरेको मोबाइल नम्बर ट्र्याक गर्दै जाँदा उत्तर महाराष्ट्रको भुसावल नजिक पुगेको सूचना सुरक्षाकर्मीहरुले पाएका थिए ।
त्यसपछि थाहा भयो कि उनी भुसावलबाट लखनउ पुष्पक एक्सप्रेस रेलमा चढेका छन् । त्यसपछि आरपीएफ र स्थानीय भारतीय कर्मचारीहरुको टोलीले सो रेलमा चढेर सर्च सुरु गरेको थियो ।