पटकाको आवाजले दिक्कै बनायो : नागरिक

कानुनी व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसक्दा विस्पोटक र हानिकारक पदार्थ नियन्त्रण हुन सकेन

तुलसीपुर, १६ कात्तिक । हरेक दिन साँझ करिव ५/६ वजेदेखि रातीको १०/ ११ वजेसम्मको समय अवधि त यस्तो लाग्छ कि, पटका पड्काउनका लागि नै बनाइएको हो जस्तो । रमाइलोका नाममा बालबालिकादेखि किशोरकिशोरी र युवा अवस्थाका नागरिकहरुले पनि पटका पट्काउने गर्छन् । तुलसीपुरका विभिन्न स्थानमा पट्काइने पटकाको आवाजले दिक्क बनाइसकेको तुलसीपुर ५ का स्थानिय सुशीला चौधरीले बताउनु भयो । ‘अरु समयमा त खासै सुनिदैन, साँझको समउमा अत्यधिक आवाज आउने गर्छ,’ सुशीलाले भन्नुभयो– ‘यो वेलामा प्रहरीले अलि बढी चासो देखाएर गस्ती गरिदिए त नियन्त्रणमा लिन सकिन्थ्यो कि ।’ कारवाहीमा नपरेर पनि पटकाको आतङक बढेको हो कि भन्ने अनुमान उहाँलाई छ । यति मात्रै होइन यसको भौतिक, आर्थिक, सामाजिक र स्वास्थ्यको दृष्टिकोणले कस्तो असर गरिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक त छ नै, बुझाउन पनि उत्तिकै आवश्यक छ । तिहारमा सबैभन्दा बढी विस्पोटक पदार्थ पटका, आतसवाजी, जुवातास खेल्ने जस्ता गतिविधि हुने गर्दछन् । यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, स्थानिय तहतथा मातहत सम्बनिधत निकाय सबैले आआफ्नै क्षेत्रबाट सक्रियताका साथ लागेको दावी गर्छन् ।
इलाका प्रहरी कार्यालय  तुलसीपुरले  के गर्दै छ ?
स्थानिय स्तरमा शान्ति सुरक्षाका लागि सुरक्षा योजना नै बनाएर प्रहरी गस्ती टोली नै परिचालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पपटका किनवेच गर्ने, पट्काउनेलाई नियन्त्रणमा लिने सम्झाइबुझाइ गर्ने र कारवाही गर्ने पनि भैरहेको छ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीले सक्रियताका साथ लागेको बताएता पनि लुकीछिपी यस्ता गतिविधिहरु भैरहेका छन् ।

जिल्लामा भैरहेको प्रहरीको गतिविधि
यही कात्तिक १४ गते बुधबार तुलसीपुर बजारका विभिन्न क्षेत्रबाट २ लाख रुपियाँ बराबरको पटका प्रहरीले नियन्त्रणमा लियो र नष्ट पनि ग¥यो । तुलसीपुर बजार र प्रहरी पोस्ट दमार गाउँले चेकजाँच गर्ने क्रममा बाँकेबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको पटका नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरले नष्ट गरेको गरिएको हो । रमाइलोको नाममा पटका पड्काउँदा अङ्गभङ्ग वा मृत्यु समेत हुन सक्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले पट्का बिक्री वितरणमा रोक लगाएको भन्दै रोक लगाउँदा पनि भेटिएको पटका नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।


यस्तै दाङ प्रहरीले पनि कात्तिक १५ गते विहिबार मात्रै झण्डै ३ लाख रुपैयाँ बराबरको पटका बरामद गरी नष्ट ग¥यो । दाङका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा २ लाख ६५ हजार ९ सय साठी रुपैँयाको पटका बरामद गरी नष्ट गरिएको हो । पटका, आतिस बाजी जस्ता प्रज्वलनशिल पदार्थले चोटपटक, आगलागी जस्ता दुर्घटना निम्तिने भएकाले सबै सचेत रहन प्रहरीले आग्रह गरेको छ भने विक्रिवितरण र प्रयोगमा समेत पूर्ण रोक लगाएको छ । यति मात्रै होइन पटकाहरू पड्काउँदा शरीरमा चोट पटकसँगै आगलागी हुन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालय दाङले बिक्री वितरण नगर्न व्यवसायीलाई निर्देशन समेत दिएको छ । स्थानिय स्तरदेखि प्रदेश र केन्द्रसम्मका सरोकारवाला निकायहरुले पटका विक्रीवितरण र पड्काउनमा रोक त लगाएका छन् तर पनि नियन्त्रणमा आउन नसकेको स्थानिय नागरिहरु बताउँछन् ।

 

जिल्ला प्रशासन कार्यालय दाङको आग्रह
जिल्ला प्रशासन कार्यालय दाङले पटाका, आतिसबाजी जस्ता प्रज्ज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न नगराउन चेतावनी जारी गरिसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्ति गत बुधबार नै जारी गरी मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला , झैझगडा गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि काम नगर्न, जुवा, तास लगायतका कानुन विपरितका कार्यहरू नगर्न, नगराउन पनि प्रशासनले अपील गरेको छ । प्रशासनले दिपावली, छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्णरूपमा मनाउन आग्रह गरेको छ । साथैे दिपावली पर्वका अवसरमा खेलिने देउसी भैलोलाई मर्यादित बनाउन आग्रह गर्दै कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक दवाव वा रकम तोकेर देउसी भैलो सञ्चालन नगर्न अपील गरेको छ । बुधवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सभ्य रुपमा देउसी, भैलो कार्यक्रम गर्न आग्रह गरेको हो । साथै देउसी भैलो कार्यक्रम रातीको १० बजेसम्म मात्रै सञ्चालन गर्न प्रशासनको आग्रह छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा देउसी भैलो, नाँच गान गर्दा सार्वजनिक यातायात तथा जनजीवनलाई असर पर्नेगरी नगर्न पनि आग्रह गरिएको छ ।

वातावरणविद्को भनाइ के छ ?

यसैविच वातावरणविद्ले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताउँछन् । वातावरणविद् सञ्जिवनी योञ्जनले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताउनुभयो । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउनेभन्दै सतर्कता अपनाउन आग्रह उहाँको आग्रह छ । पटकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा तिहारलाई भव्य रुपमा मनाउन सकिने बताउनुभयो । पटकाबाट निस्कने विषाक्ता धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरुले पनि आग्रह गरेका छन् ।

कानुनी व्यवस्था के छ ?
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था गरेको छ । यो व्यवस्थामा कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देज विपरीत हुनेगरी कुनै पनि किसिमका विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन भनिएको छ । विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही उपदफाको (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर यी कानुनी व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसक्दा पटका जस्ता विस्पोटक र हानिकारक पदार्थ नियन्त्रण हुन सकेको छैन ।।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया