दाङ, जेठ २७ ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की दलित महिला सदस्य मना सार्कीको हत्याको विरोध गरेको छ । जेठ १९ गते बेलुकी दलित महिला सदस्य मना सार्कीको दलित भएकै कारण कुटपिट गरेर हत्या गरेको विरोधमा मुक्ति समाज दाङले विरोध जनाएको हो ।
मुक्ति समाज दाङका अध्यक्ष टंक सुनारले आईतबार एक विज्ञप्ती जारी गर्दै उहाले सार्कीको जातीय विभेदकै कारणले कुटपिट गरेर हत्या हुनुले फेरि अर्को पटक सम्पुर्ण नेपाली दलित समुदाय त्रसित र भयभित बनेको उल्लेख गर्नुभयो । जेष्ठ १९ गते वेलुकी ८ः३० वजे आफ्नै खेतवारीबाट तरकारी लिएर पानीको धारामा पखाल्दै गरेको अवस्थामा नजिकै छिमेकी कम्मर शाहीका छोरीहरु २५ बर्षिय राजिन्द्रा शाही र २१ बर्षिय श्रृजना शाहीले धाराको पानी छोएको निहुँमा ढुंगा र पैयुंको लठठीले टाउकोमा निर्मम ढङ्गले हिर्काएर हत्या गरिएको विज्ञप्तीमा उल्लेख छ ।
तर दलित समुदायलाई हतोत्साही र कमजोर तुल्याउन अनेक कारणलाई हल्ला बनाईएको प्रति मुक्ति समाजले भ्रत्सना गरेको छ । दलित भएकै कारण ज्यान लिनेसम्मका अन्तन्तै निमर्म र क्रुर घटनाहरु नेपाली समाजमा अहिले पनि भैरहनु राष्ट्रिय लज्जाको विषय बनेको भन्दै प्रहरी नियन्त्रणमा रहेका स्थानिय २५ बर्षिय राजिन्द्रा शाही, २१ बर्षिय सिर्जना शाही माथी अनुसन्धान गरी कडा भन्दा कडा कार्बाही गर्न मुक्ति समाजका टंक सुनारले आग्रह गर्नुभयो ।
साथै केन्द्रिय कार्यक्रम अनुसार देशका ७७ वटै जिल्ला प्रशासन मार्फत गृहमन्त्रालय समक्ष ज्ञापनपत्र बनाउने कार्यक्रम रहेको अध्यक्ष सुनारले जानकारी दिनुभयो । विहान ११ बजे दाङमा क्रियाशिल सम्पुर्ण दलित संघसंगठनहरुले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।