संसदीय अभ्यासका विषयमा सांसदलाई प्रशिक्षण

तुलसीपुर,२३ जेठ ।
संघीय संसद् सचिवालयले सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कानून तर्जुमा प्रक्रिया लगायत संसदीय अभ्यासका विषयमा सांसदहरुलाई प्रशिक्षण दिन लागिएको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताउनुभयो । संघीय संसद् नयाँ बानेश्वरमा आजबाट सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुले भाग लिने बताइएको छ ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । संविधान कार्यान्वयनका लागि सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानूकुल बनाउनुपर्ने भएकाले कानून निर्माणमा सजिलो होस् भनेर सांसदलाई प्रशिक्षण दिन लागिएको संसद सचिवालयले जनाएको छ । नयाँ संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा मौलिक हकसँग सम्बन्धित कानून आगामी असोज मसान्तसम्म बनाइसक्नुपर्नेछ ।

संघीय संरचना र संघीय शासन प्रणाली, बजेट निर्माण र वित्तीय अनुशासन, संसद् र नागरिक बीचको सम्बन्धका विषयमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ । नेपालको संविधान जारी गरिसकेपछि संघीय संसद्ले १४० वटा कानून बनाउनुपर्ने जिम्मेवारी रहेकामा अधिकांश कानून बनाउनै बाँकी छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया