दाङमा आर्थिक गणना अन्तिम चरणमा, हाल सम्म जिल्लाका १३ हजार भन्दा वढिको गणना

लक्ष्मण विश्वकर्मा ,घोराही ,२१ जेठ
दाङमा पहिलो पटक सुरु गरीएको आर्थिक गणना अन्तिम चरणमा पुगेको छ ।राष्टिय आर्थिक गणना २०७५ अन्र्तगत दाङमा गत बैशाख १ गतेदेखी आर्थिक गणना सुरु गरीएको थियो ।जिल्ला आर्थिक गणना कार्यालय दाङले दिएको जानकारी अनुसार जेठ २० गते सम्मको तथ्याङक हेर्दा जिल्लामा १३ हजार ७ सय ७२ प्रतिष्ठानको आर्थिक गणना भईसकेको छ । जसमा प्रत्येक उद्योग,व्यवसाय,संघसंस्था,वित्तिय संघसंस्था, शैक्षिक संघसंस्था, कलकारखाना र फर्म लगाएतका प्रतिष्ठानहरु रहेका छन् ।
जिल्ला आर्थिक गणना कार्यालयका अधिकृत तुलसीराम पोख्रेलका अनुसार आर्थिक गणनाका लागी जिल्लाभर ४७ जना कर्मचारी तथा गणकहरु परिचालन गरीएको छ । उनका अनुसार जिल्लाका अधिकांस मुख्य बजारहरुमा अहिले गणना कार्य सम्पन्न भईसकेको छ । अव केही छुटेका प्रतिष्ठान र पुनरावलोकन गर्न मात्र बाँकी रहेका ठाउँहरुमा गणना गरिने अधिकृत पोख्रलको भनाई छ ।

पहिलो पटक आर्थिक गणना सुरु गरीएको हुदा कार्यालयले जिल्लामा १७÷१८ हजार प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखेको थियो । तर जिल्लामा गणना कार्य अन्तिम चरणमा पुगेको बताउदै कार्यालय अधिकृत पोख्रेलले अझै पनि गणना कार्य जारी रहेकाले जिल्लामा १४ हजार सम्म संख्या पुग्ने अनुमान गरीएको बताएका छन् । उनका अनुसार जेठ ३१ गते सम्म आर्थिक गणना गरिने भएको छ ।

आर्थिक गणनाका लागी दाङमा गत चैत १ गते कार्यालय स्थापना गरीएको थियो । कार्यालय असार सम्म खुल्ला रहने कार्यालय अधिकृत पोख्रेलले जानकारी दिएका छन् । उनले जिल्लामा कोहि नछुट्ने र कोहि नदोहोरिने भन्ने मान्यताका साथ काम गरीरहेको जानकारी दिदै अझै पनि समय भएकाले कोहि छुटेको भएमा सम्पर्क गर्न प्रतिष्ठानहरुलाई आग्रह गरेका छन् ।
राज्यले निति तथा योजना निर्माण गर्नका लागी सजिलो हुने लक्ष्यका साथ देशका ७७ वटै जिल्लामा आर्थिक गणना सुरु गरीएको छ ।यसले गर्दा राज्यलाई तथ्याङकको आधारमा विवरण ,समस्या, आबश्यकता र मान्यताको पहिचान गर्न सजिलो हुने र प्रतिष्ठानहरुलाई पनि सन्चालन तथा समन्वय गर्नका लागी धेरै सहज हुने बताइएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया