काठमाडौं,८ जेठ ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् । सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं ८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।
सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।