तुलसीपुर , ५ जेठ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ पन्चासे भन्ने स्थानमा गए राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना परि अन्य १४ जना घाइते भएका छन् । ज्यान जानेमा ट्याक्टरमा सवार दाङ तुलसीपुर वडा नं. १० निवासी अन्दाजी ४० वर्षीय गणेश भण्डारी र सोहि वडाका अन्दाजी ३२ वर्षीय चूडामणि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिएका छन् ।
मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरलाई लिएर गाउँ फर्कने क्रममा गए राति रा १ त २२६१ नंम्वरको ट्याक्टर पन्चासे भन्ने स्थानमा ट्र्याक्टरको ट्रली (पछाडिको भाग) सडकबाट चिप्लिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एक जनाको घटना स्थलमै ज्यान गएको थियो अर्का एक जनाको उपचारकालागी अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।