पारिवारिक निजी वन संघ दाङको नयाँ कार्यसमिति चयन

तुलसीपुर, १६ बैशाख । पारिवारिक निजी वन संघ दाङको अध्यक्षमा धन बहादुर केसी चयन हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा आज भएको पारिवारिक निजी वन संघ दाङको दोस्रो अधिवेशनबाट केसीको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । जसको उपाध्यक्षमा राधिका न्यौपाने, सचिवमा रुप बहादुर खत्री, सहसचिवमा देवी पोख्रेल र कोषाध्यक्षमा बसन्ता सापकोटा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कमल पोख्र्रेल, मंगल बिक, धनसिङ पुन, मिन बहादुर केसी, दिपक केसी, अन्जु रेग्मी, प्रेणा परिवार, भगवती पुन, पवित्रा लामीछाने र बालकुमारी भण्डारी चयन हुनुभएको छ । संघका यसअघिका जिल्ला अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको अधिवेशनलाई सम्बोधन गर्दै पारिवारिक निजी वन संघका केन्द्र्रिय अध्यक्ष जोगराज गिरीले २०७० सालमा स्थापना भएको पारिवारिक निजी वन संघका शाखा अहिले ५७ वटा जिल्लामा विस्तार भइसकेको बताउनुभयो । यसअघि ३५ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको भन्दै उहाँले ३६औं जिल्लाका रुपमा दाङले अधिवेशन सम्पन्न गरेको बताउनुभयो । ९ बर्षको अवधीमा संघले ठुलो उपलब्धी हासिल गरेको भन्दै उहाँले नेपालमा पारिवारिक निजी वन सशक्त संस्थाका रुपमा स्थापित भइसकेको  बताउनुभयो ।

सो अवसरमा संघका केन्द्र्रिय उपाध्यक्ष मेघराज भुषालले पारिवारिक निजी वनले विगटका नागरिकलाई उद्यमसँग जोड्नका लागी महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । यस्तै ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका पुर्व नगरप्र्रमुख घनश्याम पाण्डेले दर्ता जग्गाका रुखहरु काट्दा वनलाई सोध्नुपर्ने बाध्यता हट्नुपर्ने बताउनुभयो । व्यक्तीगत दर्ता जग्गामा लगाइएको अन्य विभिन्न किसिमका अन्नबाली विक्री गर्दा कसैलाई सोध्न नपर्ने तर त्यही जग्गामा रहेका रुख बेच्नका लागी फाइल बोकेर डिभीजन वन कार्यालय धाउनुपर्ने बाध्यता रहेको भन्दै यो अवस्थालाई अन्त्य गर्नुपर्ने उहाँको भनाई छ । यसले गर्दा पनि नेपाली जनता गरिब हुदै गएको भन्दै उहाँले दर्ता जग्गाका रुख काटेर बेच्न पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । तुलसीपुर उपमहानगर पालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सहजीकरण बसन्ता सापकोटाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया