तुलसीपुर, १२ बैशाख
अनुमति विना कक्षा थप गर्ने र संचालित विद्यायहरु अव कानुनी दायरामा आउने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा कडा नीति पारित गरेपछि त्यस्ता विद्यालयहरु कानुनी दायरामा आउने भएका हुन ।
कार्यपालिकाको वुधवार वसेको २७ औ बैठकले विद्यालय खोल्ने, स्विकृति, थप कक्षा, गाभ्ने र शैक्षिक अनुमति सम्बन्धि कार्यविधि पारित भएपछि उपमहानगरपालिका आगामी दिनमा काडाईका साथ प्रस्तुन हुने अवस्था देखिएको छ । उपमहानगरपालिकाले अनुमति पाएको भन्दा माथिल्लो कक्षा संचालन गर्नेलाई प्रति कक्षाको दश हजारका दरले जारीवाना गर्ने निर्णय भएको छ भने अनुमति विना गाउँमा संचालित विद्यालयहरु बन्द गरिने प्रेस संयोजक वसन्त विवस आचार्यले जानकारी दिएका छन् ।त्यसैगरी नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले कार्यविधि अनुसार यसै शैक्षिक सत्रबाट नयाँ कक्षा थप गर्न चाहने विद्यालयहरुलाई एउटा कक्षा थप गर्न अनुमति दिइने भएको छ । यसका साथै कार्यविधिले नयाँ विद्यालय स्थापना गर्न चाहनेहरुका लागि वस्तुगत अध्ययन गरेर सञ्चालन अनुमति दिने कुरामा जोड दिएको छ ।
कार्यविधिका अनुसार आधारभूत विद्यालयको हकमा शैक्षिकसत्र सुरु हुनुभन्दा दुई महिना अगावै र माध्यमिक विद्यालयको हकमा शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा तीन महिना अगावै आफ्नो राय सहितको प्रतिवेदन शाखा प्रमुखले शिक्षा समितिको वैठकमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसका साथै विद्यालयहरुले नेपाल सरकारले स्विकृत गरेको पाठ्यक्रम मात्रै पढाउनु पनर्,े राष्ट्रियता प्रति आँच आउने पाठ्यसामग्री भएको पाठ्यपुस्तक अध्यापन गर्न, गराउन नहुने, विद्यालयमा वालमैत्री, अपाङ्खतामैत्री तथा लैङ्खिकमैत्री बातावरण सृजना गर्नुपर्ने लगायतका प्रावधानहरु पनि राखिएको छ । कार्यविधिले तुलसीपुर उपमहानगरपालिका कार्यविधिमा कम विद्यार्थी सख्या भएका विद्यालय गाभ्ने सम्वन्धि कुरा समेत उल्लेख छ । कुनै सामुदायिक विद्यालयले विद्यार्थी संख्या यथेष्ट भर्ना गर्न र टिकाउन समय माग गरेको अवस्थामा त्यस्ता विद्यालयलाई समय प्रदान गर्ने र कार्यपालिकाले विद्यालय गाभ्ने सम्बन्धी निर्देशन समय सिमा समाप्त भए पछि शैक्षिक सत्रको जुनसुकै वखतमा पनि दिन सक्ने प्रावधान कार्यविधिमा उल्लेख गरिएको छ ।
यसैगरी वैठकले तुलसीपुरमा नगरस्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यविधि पनि पारित गरेको छ । पारित कार्यविधि अनुसार तुलसीपुरका सबै वडाहरुमा नगर स्वास्थ्य केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ । कार्यविधि पारित भएसँगै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको नगर स्वास्थ्य केन्द्र स्थापनाका लागि बाटो खुलेको छ ।