जितगढीमा सरकारको ध्यान गयो : मुख्यमन्त्री

बुटवल, बैशाख ७ ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिकाले शुक्रबार एक भव्य समारोहको आयोजना गरी दिवस मनाएको हो । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले पहिलोपटक बैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवस रुपमा मनाउन थालनीसमेत गरेको छ ।
वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको दिनका रुपमा यकिन गरिएको थियो । सोही दिनको सम्झनामा उत्सव दिवस मनाउन थालिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
विजय उत्सव दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जितगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शीर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएकाले प्रदेश सरकाको नजर यसमा गएको बताउनुभयो ।

समारोहमा प्रदेश सरकाका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठलगायतले हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीले अब मुहार फेर्न आफुहरुको पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि ५० लाख बजेट छट्टाएर काम थालेको बताउनुभयो ।

जितगढी किल्लामा मूल समारोह हुनु अघि बुटवल उपमहानगरपालिकाको प्रांगणबाट विभिन्न सांस्कृति प्रस्तुतिसहितको प्रभातफेरि निकालिएको थियो । विभिन्न ६० वटा संघ संस्थाहरु उक्त ¥यालीमा सहभागी रहेको ¥याली मूल्यांकन समितिका संयोजक टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । तीमध्ये उत्कृष्ट छ वटालाई नगदसहित सम्मान समेत गरिएको वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपप्रमुख गुमादेवी आचार्य र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया