मिटर व्याजले तुलसीपुरका व्यापारीको उठिबास , ३ जना व्यापारी आत्महत्या गर्न बाध्य

तुलसीपुर, ३ बैशाख

तुलसीपुर क्षेत्रमा चर्को मिटर व्याज (ऋण दिए वापत चर्को व्याज लिने) लगाउने गैरकानुनी कार्यले धेरै व्यवसायीको उठिबास भएको खुल्न आएको छ ।  कतिपय व्यापारीले ऋण लगेवापत एक सय रुपैयाँको मासीक तीन रुपैयाँ देखि एक लाखको दैनिक एक हजार रुपैयाँ सम्म लगेको रहस्य खुलेको छ ।
जसका कारण ७÷८ बर्षको अवधिमा करोडपतिबाट रोडपतिमा झर्नु परेको स्वयम् व्यापारीले गुनासो गरेका छन् । उनिहरुले चर्को व्याजको पिडा मात्रै हैन मुद्दा समेत खेपिरहेका छन् ।

तुलसीपुरका व्यापारी श्याम केसीले एक लाखको दैनिक एक हजारको व्याजका हिसाबले १० लाखको मासिक ३ लाखको ४ महिनामा १२ लाख रुपैयाँ लगेको पिडित व्यापारी चक्रबहादुर डाँगीले बताए । डाँगीले श्याम केसीलाई व्याज मात्रै २५ लाख रुपैयाँ बुझाएको बताएका छन् । केसीले साँवाको चेक आफनो नाममा र व्याज अर्कैको नामममा काट्न लगाउने गरेको उनले बताए । कानुनबाट बच्न यस्तो चलाखी गर्ने गरेको व्यापारीले बताए ।

‘मैले लामो समयसम्म नलिएको ढुकुटी श्यामले खिचिदिए, पसलमा सामान थप्नका लागि राखेको ढुकुटी खिचेपछि किन लगीदिनुभयो भनेर श्याम दाइलाई भने’ डाँगीले भने,‘ पैसा जति भए पनि म दिहाल्छु भने ।’ उति वेला देखिनै आफनो व्यवसाय विग्रीएको डाँगीले बताए ।

टन्डन टेड्रसका संचालक समेत रहेका श्याम केसीले १६ लाखको चेक फिर्ता दिन्छु भन्दै १६ लाखको तमसुक वनाएर उल्टै फसाएको डाँगीले बताएका छन् । केसीले १६ लाखको तमसुक आफुसंग राखेर १६ लाखको चेक अनादर भन्दै जिल्ला अदालतमा मुद्दा दिएर डाँगीलाई मुद्दा वोकाएका छन् ।

‘खातामा पैसा जम्मा हुँदासम्म लामो समय लाग्छ, त्यसैले चेक च्यातेर तमसुक बनाउने भनेपछि म पनि सोझो भएकाले हुन्छ भने,’ डाँगीले भने , ‘१६ लाखको तमसुक बनाएर चेक अनादर मुद्दा चलायो । डाँगीले पश्चिम दाङको धनौरीमा रहेको पाँच कठ्ठा जग्गा अदालतमा टाँगेका छन् । जग्गाको मुल्याङ्कन साढे तीन लाखको गरिएको छ ।

अब पैसा पनि नभएको र सम्पति पनि भएकाले जेल जान सक्ने भन्दै ठूलो चिन्तामा उनि छन् । भएको करोडको सम्पति पनि गुम्नुका साथै , झुटो मुद्दा पनि खेप्ने र उल्टै जेल पनि जानु पर्ने स्थिति आएककाले दिनमा भोक र रातमा निन्द्रा लाग्न छोडेको डाँगीले बताए । चेक अनादरको मुद्दाको छिनोफानो लागेपछि पुनः तमसुकको आधारमा केसी फेरी पनि आफू विरुद्ध मुद्दा लड्न सक्ने आसंका गरेका छन् ।

तुलसीपुरको बजारमा रहेको साढे तीन तलाको घर, ३०/४० लाखको रेडियो पसल, तुलसीपुर ८ अश्वारामा रहेका ३२ वटा घडेरी विक्रि गर्नुका साथै पश्चिम दाङको धनौरीमा रहेको ५ कठ्ठा जग्गा अदालतमा टाँगेर समेत नुपुगेपछि उनि अहिले भाडामा बस्दै आएका छन् । डेढ करोडको घर र घडेरी ९० लाखमा विक्रि गरेको डाँगीले बताए ।

यता केसीले तमसुक बनाए पनि च्यादिएको बताएका छन् । आफुले सावा नपाएपछि अदालतमा मुद्दा हालेको भन्दै केसीले तमसुक बनाए पनि च्याति दिएको बताए । यो त उदाहरण मात्रै हो । यस्ता धेरै व्यवसायी घरबारविहिन भएको कतिपय व्यापारीले बताएका छन् । गैरकानुनी रुपमा आर्थिक कारोबार गर्नेलाई कार्बाही नगर्ने हो भने यसले भयावह अवस्था ल्याउन सक्ने भन्दै व्यापारीले यसलाई तत्काल रोक्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् । अबैध रुपमा मिटर व्याजको कारोबार गर्ने र गराउने गिरोहलाई तत्काल पहिचान गरी कानुनी दायरमा ल्याउनु पर्ने व्यवसायीको माग छ ।

मिटर व्याजले दर्जनौ नाम चलेका व्यापारी विस्थापित

यता तुलसीपुर उद्योग बाणिज्य संघले पछिल्लो समय मिटर व्याजको कुरा चरमरुपमा आएको बताएको छ । मिटर व्याजले तुलसीपुरका ३ जना व्यापारीले आत्महत्या गर्नुका साथै दर्जनौ व्यापारीहरु रातारात भागेको तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष विरु रावतले बताए । पाँच प्रतिशत सम्म व्याज लिने गरेको अनौपारिक कुराका क्रममा थाहा पाएको भन्दै अध्यक्ष रावतले यसबाट आफु निकै चिन्तित भएको बताए ।
लाखौ कारोबार गर्ने र व्याज नखुलाएर कारोबार गर्ने गरेको भन्दै व्यवसायिक हकहितका लागि उद्योगबाणिज्यसंघ लड्न तयार रहेको बताए । गैरकानुनी कार्यमा तुलसीपुरको मै हुँ भन्ने व्यक्तिहरु संलग्न रहेको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताए ।

के भन्छन सीडियो ?

जिल्ला प्रशासन कार्यालयले आफु कहाँ मिटर व्याजको गुनासो नआएको बताएको छ । मिटर व्याजको गुनासो आएमा तत्काल कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले बताए । ‘हामी कहाँ लेनदेनको मुद्दा मात्रै आउँछ,’ प्रमुख जिल्लाअधिकारी श्रेष्ठले भने ‘यदि कसैले चर्को मिटर व्याज लगाएर दुःख दिएका छन् भने खबर गर्नुहोस तत्काल प्रहरी खटाएर पक्राउ गर्छौ ।’ श्रेष्ठले त्यस्ता व्यक्तीलाई बैकीङ कसुर ऐन अन्तर्गत कारवाही गन बताए ।

 

 

प्रकाशित मिति : २०७५ बैशाख ३ गते सोमवार
प्रतिक्रिया