घुस लिँदालिँदै नगरपालिकाका हाकीम पक्राउ

काठमाडौं/ बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिदा लिदै सोमबार राति रंगेहात पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार साँझ ७ बजेर ४५ मिनेटमा काठमाडौं महानगरपालिका–३ को कार्यालय अगाडि सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारले अधिकारीका साथै नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई समेत पक्राउन गरेको छ । दुवै जनालाई एकसाथ पक्राउ गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले बताए । अधिकारीले बुढानिलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्व वायर ( पानी ट्यांकी) निर्माण कार्य सम्पन्न गरेपश्चात कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेकी थिइन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले नै घुस मागेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरेको हो । अख्तियारको टोलीले प्रमुख प्रशासकीय अधिकृत अधिकारीको बा १८ च ७०७८ र इन्जिनियर श्रेष्ठको बा ७ च ५८९४ नम्बरको कारसहित पक्राउ गरेको हो ।

अख्तियारले यसअघि पनि भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा दुई पटक बुढानिलकण्ठ नगरपालिका कर्मचारीलाई पक्राउ गरिसकेको छ । सोमबार राति भने पहिलो पटक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ परेका हुन् ।

उपसचिव लिला अधिकारी घुस लिदा लिदै पक्राउ परेको हालको घटनाबाट सर्वसाधारण मानिसहरु आश्यर्चमा परेका छन् । महिला कर्मचारीहरु पनि घुस माग्न र खान माहिर हुन थालेको ठहर कतिपयले गरेका छन् । अख्तियारका दीर्घराज मैनालीले दुवैजनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान सुरु गरिएको जनाए

प्रकाशित मिति : २०७४ चैत्र २८ गते बुधवार
प्रतिक्रिया