प्रहरीले गतवर्ष फागुनमा ठगी मुद्दा चलाएर चैतमा पूर्पक्षका लागि थुनामा गएकी एक महिला यो चैतमा फेरि सोही प्रकारको मुद्दामा पक्राउ परेकी छन्। प्रहरीले गत फागुन २१ गते पक्राउ गरेकी कोपिला बोहरा थापा यसपटक मञ्जु बुढाथोकीको नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी हुन्।
महानगरीय प्रहरी वृत्त बालाजुले ठगी आरोपमा आइतबार नियन्त्रणमा लिएकी कोपिलालाई काठमाडौं जिल्ला अदालतले गत चैत १७ मा पूर्पक्षका लागि थुनामा पठाएको थियो।
‘हामीले गत वर्ष समेत पक्रेर कारवाही चलाएका थियौं, कारागारमा होला भनेको त निस्केर ठगीमै लागेको पाइयो, बाँकी अनुसन्धान भइरहेको छ,’ वृत्तका प्रमुख डिएसपी विश्वराज खडकाले भने। उनका अनुसार गतवर्ष भिमप्रसाद राईको जाहेरीका आधारमा करिब सवा ३ लाख ठगीको आरोपमा कोपिलाविरुद्द मुद्दा चलेको थियो।
वृत्तले सशस्त्र प्रहरी बलमा जागिर लगाइदिने भन्दै ५ जना महिलाबाट करिब साढे दुईलाख ठगेको आरोपमा बुढाथोकीलाई दोस्रो पटक आइतबार नियन्त्रणमा लिएको हो।
बुढाथोकीले सशस्त्र सहायक निरीक्षकको पोशाक लगाएको फोटो देखाएर आफ्नो पहुँच माथिसम्म रहेको भन्दै ५ महिलाबाट रकम असुलेकी थिइन्।
अनुसन्धानमा बालाजु एरियामा बस्ने उनले आफूलाई यसपटक कोपिला बोहराका नामले चिनाउने गरेकी थिइन्। तर उनको पोशाकको नाम ब्याचमा भने एम बुढाथोकी नै छ। प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएकी बोहरा नै गतवर्ष कारवाही भोगेकी मञ्जु बुढाथोकी भएको खुलेको थियो।
कोपिलाले दैलेख चामुण्डा विन्द्रासेनी स्थायी ठेगाना भएकी बनस्थली बस्ने राधा शाही एक लाख ४५ हजार, सिन्धुपाल्चोककी, रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनवारसँग १९ हजार ठगेको निवेदन वृत्तमा परेको छ। वृत्तले उनले सशस्त्रको पोशाक कहाँबाट पाइन् र घटनामा अन्य को–को संलग्न छ भन्ने अनुसन्धान थालेको छ।
नेपालखबरबाट साभार